दाङको घोराहीमा सुनचाँदीका गहना चोरेको आरोपमा दुई जना र पैसा चोरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गहना चोरीमा पक्राउ पर्ने घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय शरद विश्वकर्मा र घोराही-१४ सैनिक रोडस्थित 'जयमा सिंह सुनचाँदी गहना उद्योग' का सञ्चालक ६५ वर्षीय गुणराज शाक्य हुन्।
विश्वकर्माले गहना चोरेर शाक्यलाई बेचेको प्रहरीले जनाएको छ।
घोराही-१५ एकता टोलकी ३८ वर्षीया तेजकुमारी बुढाथोकीले चैत ६ गते घरमा राखेको सुनचाँदीका गहना चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। हुलियाका आधारमा खोजी गर्दा सोमबार विश्वकर्मा पक्राउ परेका थिए। स्वरूप परिवर्तन गरेर बेचिएका सुनचाँदीका गहना बरामद गरिएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार ४ आना तौल भएका सुनका २ डल्ला, ६ आना तौल भएको सुनको १ डल्ला, १ तोला ८ लाल तौल भएको सुनको अर्को १ डल्ला बरामद भएको थियो। त्यस्तै, सुनको सिक्री, चाँदीको पाउजु, चाँदीकै बाला पनि बरामद भएको डिएसपी शाहले बताए।
त्यस्तै, घोराही-१७ चौघेराका २५ वर्षीय रोशन चौधरी ५० हजार रूपैयाँ चोरेको आरोपमा पक्राउ परेका छन्।
उनले घोराही-१३ खरकट्टीकी मनिषा रोकाको घरबाट चैत १५ गते चोरी गरेका थिए। रोकाले त्यसै दिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।