लुम्बिनीमा प्रदेशमा विपदबाट चालु आर्थिक वर्षमा २ सय ९८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ६ सय ४१ घाइते र १८ जना बेपत्ता भएका छन्।
लुम्बिनी प्रदेश विपद व्यवस्थापनका अनुसार यस वर्ष हालसम्म एक हजार ७५२ विपदका घटना घटेको छ।
मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस वर्ष भएको मानवीय तथा भौतिक क्षतिबारे प्रतिवेदन पेस गरेको थियो।
उक्त प्रतिवेदनमा २०८० को तुलनामा यस वर्षमा मानवीय क्षति बढी भएको उल्लेख छ।
गत वर्ष एक हजार २२० घटना हुँदा ७६ जनाको मृत्यु भएको थियो भने १९६ जना घाइते भएका थिए। प्रदेशका जिल्ला प्रमुखले विपदबाट भएको मानविय क्षतिसहितको विवरण पेस गरेका थिए।
प्रतिवेदनमा चालु आर्थिक वर्ष २०८१ र ०८२ मा राहत र पुनः निर्माणका लागि एक करोड २१ लाख २२ हजार रुपैयाँ वितरण गरिएको छ।
जसमा राहतको लागि एक करोड ६ लाख ३७ हजार र पुनः निर्माणका लागि १४ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको हो।
यस्तै, विपद राहतलाई बीमा र सीप उत्पादनसँग जोड्न लुम्बिनी प्रदेशले योजना अघि सारेको जनाइएको छ।
उक्त बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल गरिएको थियो। भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हुरी, अतिवृष्टिको जोखिमबारे बैठकमा चर्चा गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिए।
उनका अनुसार प्रदेशले विपद व्यवस्थापनका लागि विपद पूर्व, विपद भएको बेला र विपद पश्चातको अवस्थालाई ध्यानमा राखेर काम हुन्छ।
बैठकले पाल्पाको पर्यटकीय गन्तव्य रानी महलको नदी कटान संरक्षण, तानसेनको सुकुम्बासी बस्ती सुरक्षा, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा सिँचाइको काम अघि बढाउन बजेट छुट्याउने निर्णय गरेको छ।