बलात्कार मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बर्दिया प्रहरीले २२ वर्ष पछि पक्राउ गरेको छ।
बलात्कार मुद्दाको फैसला पछि फरार रहँदै आएका बढैयाताल गाउँपालिका–१ जमुनीका ४१ वर्षीय कुलबहादुर सुनारलाई प्रहरीले २२ वर्ष १० महिना १९ दिन पछि पक्राउ गरेको हो।
जिल्ला अदालत बर्दियाले २०५९/०१/२९ गते हाडनाता करणी मुद्दामा सुनारलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो। त्यसयता सुनार फरारको सूचीमा थिए।
सुनार बाँकेको कोहलपुर नगरपालिका-८ हवल्दारपुरबाट मंगलबार पक्राउ परेका थिए।
पक्राउ पछि सुनारलाई अदालत पेश गरिएको र अदालतको आदेशले तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराज घर्ती मगरले बताए।