पर्साको वीरगञ्जस्थित बालसुधार गृहका बालकहरूले सेवा सुविधाको माग गर्दै होहल्ला गरेका छन्।
मंगलबार दिउँसो १ बजे पर्सा महानगरपालिका बिर्तास्थित रहेको सुधार गृहभित्र रहेका बालकहरूले होहल्ला गरेका हुन्।
उनीहरूले सेवासुविधा नपुगेको गुनासो गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
‘गर्मी भयो, फ्यान भएन, खानेपानीको सुविधा राम्रो भएन। वैकल्पिक बत्तीको व्यवस्था गर्नुपर्यो भन्ने खालका माग राखेर होहल्ला गरेका थिए,’ उनले भने, ‘त्यहीँ भित्रको सुरक्षाकर्मीहरूले सम्झाउन खोजे तर नभएपछि हामी पुग्यौं।’
एसपी मिश्र र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल पनि सुधार गृहमा पुगेका थिए।
त्यहाँ उनीहरूसँग छलफल गरी माग पूरा गर्ने भनेपछि शान्त भएको एसपी मिश्रले बताए।
त्यहाँ १२७ जना बालकहरू बस्दै आएका छन्। कतिपय १८ वर्ष कटिसकेकाहरू पनि छन्।