मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित कुलेखानी खोलाको दहमा पौडी खेल्ने क्रममा तीन जनाको मृत्यु भएको छ। डुबेर गम्भीर घाइते भएका तीन बालकको उपचार क्रममा मृत्यु भएको हो।
प्रहरी चौकी सिस्नेरीका अनुसार सोमबार अपराह्न ४:४५ बजे तीन बालक पौडी खेल्ने क्रममा डुबेको खबर प्राप्त भएपछि स्थानीयको सहयोगमा उद्धार थालिएको थियो।
साँझ साढे ५ बजेतिर सुन्दर आचार्यका १५ वर्षीय छोरा सुशान्तको गम्भीर अवस्थामा उद्धार गरिएको थियो। उनलाई उपचारका लागि काठमाडौं पठाइएको थियो।
त्यसपछि ६:०५ बजे काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–१०, फूलबारी दाप्चाका उमेश घोरासैनीका छोराहरू १४ वर्षीय प्रमेश र ११ वर्षीय प्रभातको उद्धार गरी काठमाडौं पठाइएको थियो।
तीनै जनालाई गम्भीर अवस्थामा पाटन अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा साँझ ७:५५ बजे चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरेका थिए।
हाल तीनै जनाको शव पाटन अस्पतालमा राखिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।