यौनिक तथा अल्पसंख्यक समुदायका कथा
नीलम पौडेल आफ्नो शृंगार त गर्छिन् नै, अरूको सिँगार्न पनि उत्तिकै मनपराउँछिन्। उनले सामान्य व्यक्तिहरूसँगै कलाकारहरूको पनि शृंगार गरेकी छन्। उनी एक मेकअप आर्टिस्ट हुन्।
उनले जो जोसँग काम गरेकी छन्, सबैजसोले उनको काम र सीपको प्रशंसा गर्छन्। त्यस्तो बेला उनलाई अत्यन्तै खुसी लाग्छ।
'तर तिनै मानिसले मलाई अर्को पटक बोलाउँदैनन्,' नीलमले भनिन्, 'मैले आजसम्म जहाँ जहाँ गएर काम गरेँ, कहिल्यै गुनासो सुन्नु परेन। तर मेरो शारीरिक बनावटका कारण नमीठा शब्दहरूको प्रहार भइरह्यो।'
नीलम पारलिंगी महिला (ट्रान्सवुमन) हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय वा आफ्ना चिनजानको जमातभन्दा बाहिर काम गर्न जाँदा धेरै प्रश्नहरूको सामाना गर्नुपर्ने उनी बताउँछिन्।
'मानिसहरूले भनेका शब्द याद गर्ने हो भने त एउटा किताब बन्छ,' नीलम निर्धक्क भन्छिन्, 'तर अरूले के भन्छन् भनेर सोचिरहेकी भए आज आर्टिस्ट नीलम भनेर चिनिने थिइनँ।'
नीलमका अनुसार धेरै मान्छेमा अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लिएर भ्रम छ। पारलिंगीहरूले छुँदा के के न नराम्रो भएझैं गरी तर्सिनेहरू छन्। असमान्य वा फरक व्यवहार देखाउँछन्। अझ कतिपयले त तलदेखि माथिसम्म हेर्छन्, कानेखुसी गर्छन्। त्यसले उनलाई काम गर्न अहसज महसुस हुन्छ। तर पनि आफ्नो काम गर्न कुनै कसर बाँकी नछाड्ने उनी बताउँछिन्।
1653477261.jpg)
पहिलो भेटमा असहज महसुस गर्नेहरूले उनलाई दोस्रो पटक कुराकानी वा काम गर्न बोलाउँदैनन्।
'तारिफ गरे पनि ट्रान्सवुमन भनेपछि फेरि बोलाउँदैनन्,' नीलमले भनिन्, 'कुनै बहाना बनाएर पन्छाइदिन्छन्।'
कतिपयले काम सकिएपछि बेवास्ता गर्छन्। कसैले सुटिङमा चाहिने मेकअपका लागि काठमाडौं बाहिर लैजान्छन्। काम सकिएपछि कलाकारहरूलाई तत्कालै फर्किने व्यवस्था हुन्छ। नीलमको समयको कसैलाई महत्त्व हुँदैन। त्यो टिमको सबै काम सकिएपछि, राति मात्र उनीहरूसँगै फर्किनुपर्ने बाध्यता आइपर्छ।
'त्यसरी सँगै आउँदा पनि पुरूषहरूले अप्रत्यक्ष रूपमा धेरै कुरा भनिरहन्छन्। ट्रान्सवुमनलाई केही फरक पर्दैन जस्तो गर्छन्। ट्रान्सवुमन पनि मान्छे नै हुन् भनेर बुझ्दैनन्,' नीलमले भनिन्, 'यसो नबोल भनेर भन्न पनि सकिँदैन।'
यस्तै भोगाइका कारण उनी अचेल मेकअपका लागि आफूलाई सहज हुने ठाउँमा मात्र जान्छिन्। कुन व्यक्ति वा टिमले राम्रो व्यवहार गरेको छ, दोहोर्याएर त्यहाँ मात्र काम गर्छिन्। चित्त नबुझ्ने ठाउँमा जतिसुकै पैसा दिए पनि नजाने उनले बताइन्।
कामको क्रममा उनले मीठा अनुभव पनि सँगालेकी छन्।
उनले गरिदिएको मेकअप मन पराएर दुई परिवारले हरेक पारिवारिक भेटघाटदेखि सार्वजनिक कार्यक्रमका लागि उनैलाई बोलाउँछन्। यस्तो देख्दा उनलाई आफ्नो काम अझै निखार्न हौसला मिल्छ।
नीलमले सन् २०१५ देखि शृंगारको काम गर्न थालेकी हुन्।
एक दशकको व्यावसायिक यात्रामा उनले आफ्नो गुजारा हुने गरी दाम र नाम कमाएकी छन्। यसलाई टिकाइरहन भने उनलाई चुनौती छ। यसको समाधान भनेको सामाजिक चेतना र आर्थिक पक्ष बलियो हुनु हो। यसकै लागि उनी अचेल दुइटा काम गरिरहेकी छन्।
पहिलो, युट्युब कार्यक्रम सञ्चालन।
दुई वर्षयता नीलमले आफ्नो युट्युब च्यानलमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा देखाउने कार्यक्रम 'लुकेका घाउहरू' प्रसारण गर्दै आएकी छन्।
आफ्नो समुदायको समस्याबारे आम मानिस तथा राज्यलाई जानकारी गराउन र बुझाउन भिडिओ बनाइरहेको उनी बताउँछिन्। त्यसमा उनले आफ्ना समुदायका व्यक्तिहरूको संघर्ष, समस्या, समाज र सरकारले सुधार्ने पक्ष लगायत कुरा राख्छिन्। अहिलेसम्म उनले १५ वटा भिडिओ रेकर्ड गरे पनि ९ वटा मात्र प्रसारण गरेकी छन्।
यसको कारण खुलाउँदै उनले भनिन्, 'भिडिओमा बोलेर जान्छन्, पछि फोन गरेर नराखिदिन भन्छन्।'

भिडिओ रेकर्ड गर्न नक्सालमा उनले आफै स्टुडियो खोलेकी छन्। क्यामरा र आवश्यक अरू सामान आफै किनेकी हुन्। खिच्ने वा अरू कामका लागि जनशक्ति चाहिँदा पारिश्रमिक दिएर बोलाउँछिन्।
त्यस्तै उनले चार महिनायता आर्टिफिसियल (नक्कली) गहनाको व्यवसाय सुरू गरेकी छन्। आफूलाई आर्थिक रूपमा बलियो बनाउन यो व्यवसाय थालेको उनी बताउँछिन्।
उनले यी गहना डेढ महिनासम्म भारतको दिल्लीका बजार घुमेर ल्याएकी हुन्। ती गहना उनले विभिन्न मोडलहरूलाई लगाउन दिएर इन्स्टाग्राममार्फत बेचिरहेकी छन्। व्यापार अहिले खास राम्रो नभए पनि आफू नआत्तिएको उनी बताउँछिन्।
'जिन्दगीका उतारचढावले धैर्य गर्न सिकाएको छ,' उनले भनिन्।
नीलमको घर भोजपुर हो। उनका आमाबुबाका ८ सन्तानमध्ये नीलम तेस्रो हुन्।
छोराका रूपमा जन्मिएका उनी अरूको घरमा काम गर्दै, पढ्दै हुर्किए। कहिलेकाहीँ घर जान्थे। उनको परिवारको आर्थिक अवस्था कमजोर थियो। सबै सन्तानलाई पढाउन नसक्ने भएकाले उनका आमाबुबाले अरूको घरमा पठाइदिएका थिए। उनले कक्षा ३ देखि ५ सम्म झापामा बसेर पढे। उनी बिरामी भएपछि घर फर्काइए। त्यसपछि उनी सुनसरीको इटहरीमा बसे।
'मेरो पढ्ने इच्छा भएकाले आमाबुबाले मलाई अरूको घरमा राखेर भए पनि पढाउनुभयो,' नीलमले ती दिन सम्झिँदै भनिन्, 'इटहरीमा ५ देखि ७ कक्षासम्म पढेँ।'
त्यसपछिको उनको पढाइ धरानमा भयो। २०६४ सालमा धरानको पब्लिक हाइयर सेकेन्डरी स्कुलबाट एसएलसी दिए।
उनले त्यति बेलासम्म आफ्नो वास्तविक पहिचानबारे सोच्न थालिसकेका थिए। कक्षा–८ मा पढ्ने बेलादेखि नै उनलाई केटा साथीहरूसँग बस्न अप्ठ्यारो लाग्थ्यो।

'म आफू केटा भएर केटासँग बस्न किन अप्ठ्यारो लागेको होला भनेर अचम्म पर्थेँ,' उनले भने, 'केटा मनपर्ने, केटीहरूको पहिरन लगाउन, नाच्न मन लाग्थ्यो,' उनले सुनाइन्, 'केटा मान्छे भएर पनि किन त्यस्तो हुन्छ भनेर सोचिरहन्थेँ। तर यी कुरा कसैलाई भन्न सकिनँ।'
त्यति बेला उनी साप्ताहिक पत्रिका हेर्थे। त्यसमा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूबारे एउटा लेख भेटे। त्यसपछि उनले आफ्नो वास्तविक पहिचान बुझे। आफूजस्तै मान्छे रहेछन् भनेर ढुक्क भए।
एसएलसीपछि उनले परिवारलाई आर्थिक भरथेग गर्न धरानको एक होटलमा काम थाले। त्यहाँ काम गर्दै अंग्रेजी भाषाको तीन महिने कक्षा लिए। उनका साथीले खाजा खाने पैसा जोगाएर पढ्न सहयोग गरेका थिए।
त्यहीबीच धरानमा नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) शाखा खुल्यो। त्यसमार्फत् उनले आफ्नोबारे थप कुरा बुझ्ने मौका पाए। यही क्रममा एउटा एफएम रेडियोको कार्यक्रममा उनलाई आफ्ना कुरा राख्ने मौका मिल्यो। उनले सबै कुरा खोले। त्यस दिन उनी पूरा शृंगार गरेर महिलाकै रूपमा गएका थिए।
त्यस दिन घर पनि त्यही स्वरूपमा फर्किए। उनलाई बुबासँग डर लागेको थियो। तर बुबाले 'के केटीजस्तो भएर आएको, ठीकै छ, जे गरे पनि राम्रो काम गर्नू' भनेपछि उनको हौसला बढ्यो। त्यसपछि उनी महिला भइन्।
घरबाट समर्थन भए पनि समाजले उनलाई विभिन्न तीता र नमीठा शब्दको वर्षा गरायो। नीलमले केही वास्ता नगरी आफूलाई सजाएरै हिँडिन्।
'परिवारको आपत्ति नभएकाले समाज र आफन्तका तीखा शब्दले खास फरक परेन,' उनले भनिन्।
उनी आफ्नो चहाना अनुसार बाँच्न थालिन्। आफूले सक्ने काम गरेर परिवारलाई सघाइन्। २०६५ सालमा बुबाले ऋण खोजेर उनलाई कतार पठाए। त्यो बेला उनी जम्मा १७ वर्षकी थिइन्।
नागरिकतामा पुरूष नाम भएकाले विदेशमा त्यही अनुसारको पहिरन लगाएर काम गर्नुपर्यो। कतारमा निर्माण कम्पनीमा सिमेन्ट बोक्ने काम थियो। एक महिना नपुग्दै उनलाई मेडिकल फेल भयो भनेर कम्पनीले नेपाल फर्काइदियो।
त्यसपछि बुबाको ऋण सम्झिएर नीलमको निद्रा हरायो। काठमाडौंमा बसेर केही काम गर्ने सोचिन् तर भनेजस्तो भएन। अनि सन् २०१० मा उनी युएई गइन्। त्यहाँ एक घरमा काम गरिन्। त्यहाँ मोबाइल चलाउन दिन्थेनन्। पहिरनमा भने कुनै रोकावट थिएन, महिला नै भएर बसिन्।
त्यहाँ बस्दा नै उनले महिलाको जस्तो शरीर बनाउन हार्मोन खान थालिन्। पाँच वर्षपछि नेपाल फर्किनासाथ 'ब्रेस्ट इम्प्लान्ट' गर्न बैंकक पुगिन्।
'तीन लाख रूपैयाँ खर्चिएर शरीर बनाएर आएपछि चार महिना आराम गर्नुपर्ने थियो। कोठामा एक्लै हुँदा धेरै गाह्रो भयो,' उनले भनिन्, 'बेलाबेला त साथी आएर हेरिदिन्थिन्।'
चार महिनापछि उनले चाहेजस्तै शरीर बन्यो। त्यसमा निखार ल्याउन साथीहरूले उनलाई शृंगार गर्न सल्लाह दिए। उनलाई नआउने भएकाले मेकअप कक्षा लिइन्। एक साता सिक्दा उनले आफूलाई चिटिक्क पार्न सक्ने भइन्। दिन बित्दै जाँदा शृंगार सीप निखारियो। साथीहरूले पनि तारिफ गर्न थाले।
तर उनलाई काठमाडौंमा कोठा, जागिर पाउन मुस्किल भयो। महिला स्वरूप भए पनि उनको स्वर केटाकै जस्तो थियो। काम र कोठा खोज्न जाँदा मानिसहरूले उनको पहिचान स्वीकार गर्न सकेनन्। जहाँ जान्थिन् उनको शारीरिक बनावटको चर्चा हुन्थ्यो। अपशब्दहरू सुन्नुपर्थ्यो।

उनले हार मानिनन्। तीन–चार महिनाको खोजीपछि वेटरको काम पाइन्। त्यहाँ पनि अपशब्दहरू सुन्नुपर्थ्यो, उनी हाँसेर टारिदिन्थिन्।
'अरूको अगाडि हाँस्थेँ, राति भने खुब रून्थेँ,' उनले भनिन्, 'बिहान काममा जाँदा फेरि हाँस्दै हिँड्थेँ।'
एक दिन उनको धैर्यको बाँध टुट्यो। केही महिनापछि वेटरको काम छाडिन्। जहाँ काम गरे पनि अपशब्द सुन्नुपर्ने डरले उनी फेरि जागिरको खोजीमा गइनन्। त्यही बेला उनका साथीहरूले उनलाई शृंगार गरिदिन आग्रह गरे। उनी पनि साथीहरूले जहाँ बोलायो, त्यहीँ गएर शृंगार गरिदिइन्।
बिस्तारै उनलाई यो काम रमाइलो लाग्न थाल्यो। केही साथीले अलिअलि पैसा पनि दिन थाले। उनलाई मेकअपमा झन् रूचि बढ्यो, थप काम सिक्ने हुटहुटी भयो। अनि सन् २०१५ मा थाइल्यान्ड गएर काम सिकिन्।
४५ दिन सिकेर आएपछि उनको शृंगार सीप अझै तिखारियो। आफ्ना समुदायका साथीहरू हुँदै बिस्तारै अरूको शृंगार गर्न थालिन्। योसँगै उनी कलाकारिता क्षेत्रमा धकेलिइन्। मोडलिङ गरिन्। म्युजिक भिडिओ पनि खेलिन्।
'मेकअप र मोडलिङ दुवै क्षेत्रमा करिअर बनाउने सोचले मेहनत गरेँ। कलाकार र मेकअप आर्टिस्ट नीलम भनेर चिनिएँ,' उनले भनिन्, 'अहिले पनि संघर्ष त गरिरहेकै छु। ट्रान्सवुमन भएकाले मेरो सीप र क्षमता भन्दा पनि शरीर र पहिचानमा ध्यान दिन्छन् मानिसहरू।'
यसका बाबजुद उनले न्यून आर्थिक अवस्था भएका आफ्ना समुदायका व्यक्तिलाई आर्थिक सहयोग गरिरहेकी छन्। ६ सय जना भन्दा बढीलाई निःशुल्क शृंगार सीप सिकाएकी छन्। आफ्ना समुदायका मानिसको सीप र क्षमता विकास गर्न 'निलम्स रन–वे' नामको फेसन कार्यक्रम पनि चलाएकी छन्।
'व्यक्तिगत आम्दानी धेरै नभएकाले अर्को कार्यक्रम गर्न स्पोन्सर खोजिरहेकी छु,' ३२ वर्षीया नीलमले हाँस्दै भनिन्, 'अवस्था जे भए पनि समाजका लागि खटिरहने सोचेकी छु।'