रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धबिराम गर्न ढिलाइ गरेकोमा रिस उठेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस माथिको आर्थिक नाकाबन्दीलाई थप कडा पार्ने धम्की दिएका छन्।
युक्रेनसँग जारी युद्ध ३० दिन रोक्ने अमेरिकी प्रस्तावमा किभ सहमत भए पनि रूसले यो योजनालाई अस्वीकार गरेको छ। उर्जा संरचनामा हमला नगर्ने र ब्ल्याक सीमा जहाज सञ्चालन गर्न मात्रै राजी भएको रूसले भनेको छ।
तर त्यसका लागि पनि अमेरिका लगायत पश्चिमा राष्ट्रले रूसको कृषि उत्पादनमा लगाएको प्रतिबन्ध हटाउनु पर्ने शर्त राखेको छ।
युद्धबिराम बारेमा ट्रम्पले पुटिनसँग दुई हप्ता अघि लामो टेलिफोन वार्ता गरे पनि रूसले युद्ध रोक्न खासै ध्यान दिएको छैन। युक्रेनमाथि लगातार प्रहार गरिरहेको छ।
यस्तोमा एनबीसी न्युजसँग आइतबार कुरा गर्दै ट्रम्पले युक्रेनमा भइरहेको युद्ध रोक्ने सम्झौता नहुनुमा रूस दोषी भएको आफूलाई लागे रूसी तेल किन्नेहरूलाई पनि नाकाबन्दी लगाउने धम्की दिएका छन्।
अघिल्लो राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि २०२२ फेब्रुअरीमा हमला गरेपछि देखि नै रूसमा कडा आर्थिक नाकाबन्दी लगाएका छन्। तर अमेरिका लगायत पश्चिमा देशले नाकाबन्दी लगाए पनि रूसी तेल बिक्री भइरहेको छ।
मुख्यतः चीन र भारतले ठूलो परिमाणमा रूसी तेल किनेर रूसलाई युद्धमा लाग्ने खर्च जोहो गरिरहेका छन्। रूसी तेल किन्नेलाई पनि नाकाबन्दी लगाए रूसले तेल किन्ने ग्राहक नभेट्ने भनेर माग भए पनि तेलको भाउ बढेर अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भनेर बाइडेन डराएका थिए।
ट्रम्पले भने पुटिनले युद्धविराम नगरेर उनलाई झुलाइरहे रूसी तेल किन्नेलाई पनि नाकाबन्दी लगाउने घोषणा गरेका छन्। उनले यसो गरे चीन र भारतलाई रूसी तेल किन्न अप्ठ्यारो पर्नेछ। रूसले आफूले उत्पादन गर्ने सबै तेल बेच्न सक्ने छैन र युद्धमा लगानी गर्न सक्ने छैन।
अर्को तर्फ रूसको तेल बिक्री नभएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्न पनि सक्छ। यसले तेल उत्पादक राष्ट्रहरू बाहेक विश्व अर्थतन्त्रमा नै नकारात्मक आर्थिक प्रभाव पार्न सक्नेछ।
ट्रम्पले आफ्नो योजना बारे विस्तृत रूपमा नखुलाए पनि रूसी तेल किन्ने कुनै पनि देशले अमेरिकामा तेल मात्रै होइन कुनै पनि वस्तु बेच्न पाउने छैन भनेका छन्।
पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले गत वर्ष चुनाव प्रचार क्रममै आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी रोक्ने भनेर नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई रूसको सर्त मान्न दबाब दिने अनुमान गरिएको थियो।
नभन्दै कार्यभार सम्हाले पछि उनले रूसको पक्ष लिएर युक्रेनमाथि मात्रै दबाब हालिरहेका छन्।
रूसको भाषा बोल्दै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बेगरका तानाशाह भने। युक्रेनले नै रूससँग युद्ध सुरू गरेको झुटो दाबी गरे।
ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको जेलेन्स्कीसँग फेब्रुअरी २८ मा चर्काचर्की भएपछि केही समयका लागि अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहित सबै खाले सहायता रोक्यो। खुफिया सूचना युक्रेनसँग बाँड्न समेत रोक लगायो।
तर अहिले भने ट्रम्प पुटिनसँग रिसाएको जस्तो देखिन्छ। पुटिनले उनलाई खेलाइमात्रै रहेको र युद्ध रोक्न केही पनि लचकता नदेखाए पछि ट्रम्पको पछिल्लो टिप्पणी आएको हो।
एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले जेलेन्स्कीको वैधतामा पुटिनले प्रश्न उठाएकोमा पनि झर्किएका छन्।
सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका जेलेन्स्कीको कार्यकाल सन् २०२४ मै सकिए पनि देशमा युद्ध चलेका बेलामा चुनाव गर्न सम्भव नभएको भन्दै उनले चुनाव गराएका छैनन्।
वार्ता भइरहेको बेलामा जेलेन्स्कीको वैधताको करा उठाएपछि वार्ता ठीक दिशातर्फ नगइरहेको बुझिन्छ भनेका छन्।
ट्रम्पसँग उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा शनिबार
सात घण्टा बिताएका फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले पनि ट्रम्प पुटिनसँग चिढिंदै गएको बताएका थिए। ट्रम्पसँग एक राउन्ड गल्फ पनि खेलेका स्टबले ट्रम्पले पुटिनसँगको युद्धविरामबारे 'धैर्य गुमाउँदै' गएको भनेका थिए।
स्टबले बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँग सोमबार भेटेर ट्रम्पसँग भएको कुराकानीबारे ब्रिफिङ गर्ने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)