काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका ४१ जनामाथि प्रहरीले थप अनुसन्धान गर्न म्याद थप गरेको छ।
काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। चैत १५ गतेदेखि नै मानिसहरू पक्राउ परेकाले त्यस दिनदेखि गन्ती गरी ५ दिनको अनुमति दिइएको हो।
काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले ४१ जनाविरूद्ध दुइटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणासहित ११ जनालाई राजद्रोह र संगठित अपराधमा अनुसन्धान गर्ने भएको हो।
त्यस्तै अन्य ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न म्याद लिएको हो।
यसरी म्याद लिँदा न्यायाधीश महर्जनले मिश्र र राणाको स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर उपचारको व्यवस्था मिलाउन आदेश दिएकी छन्।
को हुन् राजद्रोह कसुरमा पक्राउ परेका प्रतिवादीहरू?
मिश्र र राणासँगै प्रहरीले आफूलाई धर्मगुरू बताउने पुष्कर खतिवडा विरूद्ध पनि राजद्रोहको मुद्दा लगाउन लागेको छ।
दुर्गा प्रसाईंका सहयोगी मनिन्द्र राजभण्डारी र गोपाल मल्ल पनि पक्राउ परेका छन्। राजभण्डारी रोयल टास्क फोर्स आरटिएफका कमान्डर समेत तोकिएका थिए।
मल्ल भने सशस्त्र प्रहरीको हतियार खोस्ने व्यक्ति हुन्।
त्यस्तै प्रहरीले भक्तपुर बस्ने ४२ वर्षीय सन्तोष चौधरी, ५१ वर्षीय रामकुमार धिमाल, ४१ वर्षीय पशुपति खड्का, ४२ वर्षीय हरिहर चौलागाईं र ३९ वर्षीय विष्णु पराजुलीलाई पनि पक्राउ गरेको छ।
उनीहरू धेरै उग्र भएर तोडफोड र आगजनीमा लागेका व्यक्तिहरू भएको एसपी बोहराले बताए।
'केही नेतृत्व गर्ने भए। अरू चाहिँ धेरै नै उग्र बनेर तोडफोड आगजनीमा लाग्नेहरूलाई पनि हामीले राजद्रोहमा अनुसन्धान अघि बढाएका हौं,' उनले भने।
बाँकी ३० जना पनि विभिन्न सिसिटिभी फुटेज, भिडिओ, फोटोमा देखिएका व्यक्तिहरूलाई पक्राउ गरेको एसपी बोहराले बताए।
हेर्नुहोस् पक्राउ पर्नेहरूको सूचीः