प्रहरीले काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकारको शवमा गोली भेटिएको सन्देश भ्रामक भएको जनाएको छ।
शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमर्टम गर्दा उनको शरीरमा गोली भेटिएको भ्रामक सूचना सामाजिक सञ्जालमा प्रवाह भएको प्रहरीले बताएको छ।
यस्तै, सामाजिक सञ्जालमा भ्रामक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने समेत प्रहरीले बताएको छ।
राजावादीहरूले राजसंस्था फर्काउन हिंसात्मक प्रदर्शन गरेका थिए। जसमा दुई जनाले ज्यान गुमाएका थिए। प्रदर्शनमा सार्वजनिक र निजी गरी १५ वटा सवारी साधन जलाइएका थिए।
तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टको कार्यालय तोडफोड आगजनी गरेका थिए। त्यस्तै एकीकृत समाजवादीको कार्यालय आगजनी गरेका थिए।
हिंसात्मक प्रदर्शन गरिरहेका राजावादीले सरकारी स्वामित्वको कोटेश्वरको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर ध्वस्त बनाएका थिए।