रूकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ राडीस्थित नापी कार्यालयको डिजिटल साइन बोर्डमा अनधिकृत सूचना लेखिएको पाइएपछि ती लेख्ने व्यक्तिको खोजी सुरू भएको छ।
आम सर्वसाधारण नागरिकका लागि कार्यालयको महत्वपूर्ण सूचना वा जानकारी दिने उद्देश्यले राखिएको डिजिटल डिस्प्ले बोर्डमा ‘म तिमीलाई माया गर्छु प्रमिला, म साँच्चै माया गर्छु’ लेखिएको थियो।
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले कार्यालयको डिजिटल बोर्डमा अनधिकृत कुराहरू कसले र कसरी लेख्यो भन्नेबारे अनुसन्धान गर्न आग्रह गरिसकेको बताए।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले मातहतका प्रहरीलाई अनुसन्धानका लागि खटाइसकेको बताए।
डिजिटल बोर्डको पासपोर्ट सजिलो राखेका कारण बाहिरका व्यक्तिहरूले समेत ह्याक गरी मनपरी कुराहरू लेखेको हुन सक्ने उनले अनुमान गरे।
‘डिजिटल बोर्डको अपरेटर को थियो र कहिलेदेखि त्यस्तो गलत कुरा बोर्डमा लेखिएको देखियो भनेर अनुसन्धान हुँदैछ,’ डिएसपी बिष्टले भने।
स्रोतका अनुसार यस्तो गलत सूचना शुक्रबार कार्यालय समयपछि आउन थालेको थियो।
कार्यालयका प्रमुख मानबहादुर आग्रीले एक जना व्यक्तिमाथि आशंका भइरहेको बताए।
‘हामीले प्रहरी बोलाएका छौं थप कुरा प्रहरीले अनुसन्धान गर्ने छ,’ उनले भने, ‘तर, हामीलाई एक जनामाथि आशंका छ।’
आइतबार बिहान कार्यालय आउँदा डिजिटल सूचना पार्टीमा ‘आइ लभ यू प्रमिला, आइ रियल्ली लभ यू’ लेखेको देखिएको थियो। त्यसको केहीबेरमै त्यो कुरा हटाइएको थियो ।