धनुषाको जनकपुरधाममा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ।
आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिकास्थित जनकपुर जलेश्वर सडकखण्डमा प्रहरी र स्थानीयबीच झडप भएको हो।
होलीको दिन स्थानीय धर्मेन्द्र महतोले १५ वर्षीय किशोरको हत्या गरेको आरोप लागेको थियो। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
यसमा फरार भएकाहरूलाई पक्राउ गर्न माग गर्दै स्थानीयले सडक अवरूद्ध गरेका थिए।
सडक खुलाउनका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
उनका अनुसार प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो।
अहिले सडक सञ्चालनमा आइसकेको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
जसबाट प्रहरी र प्रदर्शनकारीतर्फ पनि केही घाइते भएका छन्।