म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय नाघेको छ।
शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको बिबिसीले जनाएको छ।
३ हजार ४०८ जना गम्भीर घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता भएका छन्।
भूकम्पले भत्काएका घरहरूले मानिसहरू पुरिएको बताइएको छ। उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ। यद्यपि उद्धारका लागि आवश्यक उपकरण अभावका कारण धेरै मानिसहरूको उद्धार कुर्दाकुर्दै मृत्यु भएको बिबिसीले जनाएको छ।
मानिसहरू हातैले भग्नावशेष पन्छाएर पुरिएकाहरूको उद्धार गर्न बाध्य भएका छन्। त्यसरी पनि केही मानिसहरूलाई जिवितै निकालिएको थियो।
मन्डालेका एक स्थानीयले नागरिकहरू नै उद्धारमा जुटेको बताएका छन्।
'सरकारी उद्धार टोली समयमा आउँदैनन्। उनीहरुबीच समन्वय पनि छैन। कसले नेतृत्व गरेको हो भन्ने पनि थाहा हुँदैन। भग्नावशेषबाट शव निस्किए कहाँ लैजाने भन्ने ठेगान छैन। अस्पतालहरू पूरै भरिएका छन्,' ती व्यक्तिले बिबिसीसँग भनेका छन्।
म्यानमारमा २०२१ देखि सैनिक शासन छ। त्यसयता त्यहाँ गृहयुद्ध पनि चर्किएको छ। भूकम्पले क्षतिग्रस्त भएपनि सत्तामा रहेको सेनाले विपक्षी सशस्त्र समूहमाथि ड्रोन र रकेट हमला गरिरहेको छ।
भूकम्पले क्षतिग्रस्त भएका ठाउँहरूमा पनि उसले विपक्षी सशस्त्र समूहलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ। यसले उनीहरुको ध्यान सम्पूर्ण रूपले विपदमा लाग्न नसकेको बताइएको छ।
छिमेकी मुलुकहरुले पनि म्यानमारमा सहायताहरू पठाइरहेका छन्।
मुख्य सहरमा बिजुली र इन्टरेन्ट पूर्ण रूपमा अवरूद्ध हुँदा समन्वयमा पनि समस्या भएको बताइएको छ।
भूकम्पले थाइल्याण्डमा पनि क्षति पुगेको छ।
बैंककमा निर्माणधीन ३० तले भवन ढल्दा त्यहाँ कार्यरत मजदुरहरू पुरिएका छन्। तीमध्ये केही मजदुरहरू अझै जिवितै रहेको र उद्धारको प्रयत्न भइरहेको बिबिसीले उल्लेख गरेको छ।
शुक्रबार दिउँसो तीन बजे ७.७ म्याग्नेच्युडको भूकम्प गएपछि ६.२ म्याग्नेच्युडको अर्को परकम्प गएको थियो।