अर्घाखाँचीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ।
जिल्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार भूमिकास्थान नगरपालिका–१० पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको हो।
भूमिकास्थान नगरपालिका–१० को छिर्लिंङ खोला र झिमरूक खोलाको दोभान (रह) मा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको उनले बताए।
६ जना साथीहरू शनिबार दिउँसो साढे ४ बजेतिर नुहाउन भनेर खोला गएका थिए।
उनीहरूमध्ये दिलीप र अशोक डुबेको अवस्थामा अचेत फेला परेका थिए। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पौडेलले बताए।