हुलाकी राजमार्ग अन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडक खण्डमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २७ जना घाइते भएका छन्।
दुर्घटनामा परेको ट्र्याक्टर भारतीय नम्बर प्लेट भएको हो।
मृत्यु हुनेमा भारत, उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
दुर्घटनामा घाइते सबै भारतीय नागरिक हुन्। उनीहरूमध्ये तीन जनालाई बढी चोट लागेको जोशीले जानकारी दिए।
घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्र्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो। बेहडाबाबालाई सीमापारिका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन्।
ट्र्याक्टर चालक फरार छन्। ट्र्याक्टरको नम्बर पनि खुल्न सकेको छैन।