नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अनलाइन भोटिङमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्वाधिक भोट प्राप्त गरेको छ।
स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी (ओआइडिपी) नामक संस्थाले अवार्डको लागि आवेदन माग गरेको थियो। जसमा विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन भरेका थिए।
आवेदन भरेका १३७ वटा प्रदेश र स्थानीय सरकारमध्ये प्रारम्भिक चरणको छनोटबाट उत्कृष्ट बनेका ४० वटालाई अनलाइन भोटिङका लागि लगिएको थियो।
गत चैत ७ गतेदेखि १५ गतेसम्म खुला गरिएको अनलाइन भोटिङमा तिलोत्तमा नगरपालिकाले सर्वाधिक १ हजार ७ सय ३६ मत पाएर पहिलो भएको ओआइडिपीले पठाएको पत्रमा उल्लेख छ।
ओआइडिपीले नगरप्रमुख रामकृष्ण खाँणलाई पठाएको पत्रमा आगामी मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनामा हुने २४ औं ओआइडिपी सम्मेलनमा अवार्ड वितरण गरिने उल्लेख छ।
तिलोत्तमा नगरपालिका ओआइडिपी अवार्डको अन्तिम प्रतिष्पर्धाको लागि पुग्न सफल भएको एक मात्र पालिका थियो। अब प्राप्त गरेका भोटको ५० अंक र निर्णायकको ५० अंक गरी प्राप्त हुने अंकको आधारमा अवार्ड विजेता घोषणा गरिने छ।
ओआइडिपीले विभिन्न पाँच वटा विधामा आवेदन माग गरेकोमा तिलोत्तमा ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानअन्तर्गत पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकल ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा छनोट भएको हो।
तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ तथा हरियाली प्रवर्द्धननका लागि २०७४ सालदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको छ।
हरेक महिनाको १ र १५ गते नगरवासीको बृहत् सहभागितामा हुँदै आएको नगर सरसफाइ अभियानले नगरलाई सफा, स्वच्छ र हरियाली बनाएको मात्र होइन अन्तर्राष्ट्रिय स्तरको अवार्डको नजिक पुर्याएको छ।
तत्कालीन नगर प्रमुख एवं हालका प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले ओआइडिपी अवार्डमा तिलोत्तमा छनोट हुनुले जनसहभागितामा आधारित सरसफाइ र हरियाली प्रवर्द्धन अभियान नमूना र उदाहरणीय थियो भन्ने पुष्टि भएको उल्लेख गरे।
नगरप्रमुख रामकृष्ण खाँणले ओआइडिपी अवार्डका छनोट भई सबभन्दा बढी भोट पाएर नगर सरसफाइ र हरियाली प्रवर्द्धनमा लाग्न नगरपालिकालाई अझै प्रेरणा प्राप्त भएको बताए।