दुर्गा प्रसाईंका सहयोगी मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई शनिबार प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनी नेपाली सेनाका पूर्वक्याप्टेन हुन्। उनी रोयल टास्क फोर्सका कमाण्डरसमेत हुन्।
राजसंस्था पुनर्स्थापनाका लागि तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनपछि तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म एक सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ।
अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ।
प्रसाईंको आह्वानमा तीनकुनेमा प्रदर्शन भएको थियो। प्रसाईं भने शुक्रबार अपराह्नदेखि फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त प्रदर्शनमा भिडलाई उक्साउने भूमिका खेलेको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई नियन्त्रणमा लिइसकेको छ।