दाङमा बिजुलीको पोलमा बाँधेर एक महिलामाथि निर्घात कुटपिट भएको घटना छानबिन गर्न माग गर्दै विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
जिल्लामा क्रियाशील संघसंस्थाहरुले विज्ञप्ती जारी गरी घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेका हुन्।
मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षकहरूको सञ्जाल, नागरिक समाज, नेपाल पत्रकार महासंघ, इन्सेक, अन्तरपार्टी महिला सञ्जाललगायत संस्थाका प्रतिनिधिहरूले घटनाको छानबिन माग गरेका हुन्।
उनीहरुले पीडितलाई उपचारको व्यवस्था गर्न पनि माग गरेका छन्।
घोराही उपमहानगरपालिका –१० की २६ वर्षीया एक महिलामाथि चैत ९ गते (शनिबार बेलुकी) घोराही –११ चाँघुमा निर्घात कुटपिट भएको थियो ।
उनलाई बिजुलीको पोलमा बाँधेर चाँघुका २८ वर्षीय गोपाल चौधरी, २८ वर्षीय शिवकुमारी चौधरी र २८ वर्षीया हिरामती चौधरीलगायतले निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते ती महिलालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गरिएको जिल्लाका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए ।
विद्युत पोलमा बाँधेर भएको कुटपिटबाट पीडित महिलाको छाती, घाँटी, शरीरका विभिन्न भाग र दुवै आँखामा गहिरो चोट पटक लागेको अधिकारकर्मीहरुले बताएका छन्।
पीडित महिलाको दुवै आँखाको नानीमा रगत जमेको र छातिमा चोट लाग्दा श्वासप्रश्वासमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
पीडित महिलाका श्रीमान जेलमा छन्।
घटनापछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचारः खम्बामा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन जना पक्राउ