काठमाडौंको तीनकुनेस्थित निजी घरमा ल फर्म सञ्चालन गर्दै आएका राज सुवालले शुक्रबार प्रदर्शनकारीहरूले लुटपाट गरेर घरमा आगो लगाएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रहरीले घरमाथि चढेर अश्रुग्यास प्रहार नगरेको पनि उल्लेख गरेका छन्।
‘भ्रामक तथ्यको खेती भयो। जुन घरमा पत्रकार जलेर मृत्यु भयो त्यो घरमा छतमा जाने बाटो बन्द थियो, प्रहरी गएकै थिएन र जुन घरमा प्रहरी बसेर अश्रुग्यास हान्यो भनेको छ, त्यो घरमा आगलागी भएको हैन,’ सुवालको भनाइ छ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापना गर्न भन्दै तीनकुनेमा शुक्रबार प्रदर्शन भएको थियो।
त्यसक्रममा प्रदर्शनकारीहरूले निजी घरमा पसेर लुटपाट मच्चाएका थिए। त्यही घरभित्र भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।
‘आन्दोलनकारी लुटेराहरूले सामान लुट्दै गरेको भिडिओ पत्रकारले खिचेपछि पत्रकारलाई आगो लागेको कोठामा थुनिदिएका हुन्। ताला लगाएको हाम्रो बन्द कार्यालयमा लुटेराहरू भित्री झ्यालबाट पसेर लुट मचाएपछि आगजनी गरेको हो,’ उनले भने।
त्यस्तै प्रहरीले अर्को घरबाट भने अश्रुग्यास प्रहार गरेको उनको भनाइ छ।
‘तीनकुनेको सिसाको घर एउटा हैन, दुइटा हो। पूर्वको लुटेपछि आगो लगाइदिएकोमा आगोमा परी पत्रकारको मृत्यु भएको सहकारीको घर हो भने पश्चिमको प्रहरीले उपयोग गर्यो भनेको घर हो। आन्दोलनकारी लुटेराहरूले लुट मचाएपछि आगजनी गरेका हुन्। लुटेरा तथा अपराधीहरूलाई कानुन बमोजिम कारबाही गरिनुपर्छ,’ उनले भने।
प्रहरीले भने आफूहरूले घरमा चढेर अश्रुग्यास प्रहार नगरेको बताउँदै आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले कसैको घरमा अश्रुग्यास प्रहार नगरिएको र तेस्रो पटकमा पनि घेरा तोड्न खोजेपछि बल प्रयोग गरेको बताए।
‘प्रहरी गएको छैन। अनावश्यक रूपमा कतिपयले प्रहरीले माथि बसेर हानेको भनेर भ्रम फैलाइरहेका छन्। हामी ती व्यक्तिलाई पनि खोजी गरिरहेका छौं। प्रहरी जानसक्ने अवस्था थिएन। दमकल जाँदा पनि ढुंगा हानेका थिए,’ उनले भने।
स्टेजमै प्रहार गरेको भन्ने कुरा पनि भ्रामक रहेको उनले बताए।
‘रवीन्द्र मिश्र/धवलशमशेरले ४५ सय जनाको टोली जम्मा भएपछि अब बाहिर निस्किऊ भन्दै आह्वान गर्न थाले। उनीहरू घेरा तोड्न आए। धकेलाधकेल भयो। हामीले सम्झायौं। ढुंगा पनि हाने। फिर्ता पठायौं,’ उनले भने।
त्यसैगरी फेरि अर्को टोली आएको उनले बताए।
उनीहरूलाई पनि सम्झाइबुझाइ पठाइसकेपछि मात्रै अश्रुग्यास प्रहार गरेको उनले जानकारी दिए।
‘अश्रुग्यास हानेपछि दुर्गा प्रसाईं आएका थिए। उनले प्रहरीलाई नै किच्ने हिसाबले हामीतर्फ गाडी चलाउँदै आए। त्यसपछि स्थिति बिग्रिएको हो,’ उनले भने, ‘प्रदर्शन गर्न प्रहरी/प्रशासनले नै अनुमति दिएको छ। अनावश्यक रूपमा प्रहरीले नै गएर झगडा गर्न खोज्ने कुरा हुन्छ त? धेरैले नचाहिने कुरा गरिरहेका छन्।’