काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएको भन्दै १०६ जनालाई पक्राउ गरेको छ।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले यसमा संलग्न भएकाहरूको खोजी गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन भएर एक सय भन्दा बढीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ गर्नेहरूको वर्गीकरण गर्ने काम भइरहेको छ।
रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतका केही व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। शनिबार ललितपुरबाट प्रहरीले धर्मगुरू पुष्कर खतिवडालाई पक्राउ गरेको हो।
त्यसबाहेक यस घटनामा संलग्न व्यक्तिहरूलाई रातभरिमा खोजी गरिएको हो।
‘राति १० बजेतिरसम्म ५० जना जति पक्राउ परेका थिए। फेरि रातभरिमा विभिन्न ठाउँमा खोजी गरी थप व्यक्तिहरू समाएका हौं,’ एसपी बोहराले भने, ‘अब ती व्यक्तिहरूलाई स्क्रिनिङ गर्छौं।’
उनका अनुसार अहिले पक्राउ परेका व्यक्तिहरू सिसिटिभी फुटेज, भिडिओ, फोटो लगायतमा देखिएकाहरू हुन्।
‘सामाजिक सञ्जालमा आएका फोटो/भिडिओहरूलाई आधार बनाएर पनि खोजी भइरहेको छ। हामी अहिले पनि फिल्डमै खोजिरहेका छौं। कतिपय मानिसहरू घरबाट भागिसकेकाहरू पनि छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
उनीहरूको पनि संलग्नताबारे अनुसन्धान भइरहेको हो।
को माथि कुन कस्तो खाले मुद्दा चलाउने भन्ने विषयमा पनि छलफल हुने उनको भनाइ थियो।
भाटभटेनी सुपरमार्केटमा पनि लुटपाट भएको थियो। उक्त लुटपाटमा संलग्न केही व्यक्तिहरू पनि रहेको एसपी बोहराले बताए।
‘त्यहाँको सिसिटिभी फुटेजमा पनि प्रष्टसँग देखिएको छ। त्यहाँ महिला र बच्चाहरू समेतको संलग्नता देखिन्छ। हामी यसमा हेर्दैछौं,’ उनले भने, ‘थप अनुसन्धानको काम भइरहेको छ।’
प्रहरीले फरार भएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी अझै फेला पर्न सकेका छैनन्। उनी फोन अफ गरेर सम्पर्कविहीन भएका हुन्।