उपत्यकाका पछिल्ला घटनाक्रमले भिड नियन्त्रणमा प्रहरी र सुरक्षा निकाय चुक्दै गएको देखिएको छ। उपत्यकामा भएका पछिल्ला चार वटा घटनामा प्रहरीले समयमै सूचनाको विश्लेषण गरी कदम चाल्न नसक्दा भिड अनियन्त्रित भएका छन्। व्यक्तिगत सम्पत्तिको लुटपाट र आगजनीका घटना भएका छन्।
राजावादीले आज काठमाडौंको तीनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शन प्रहरीको नियन्त्रण बाहिर जाँदा सडक छेउका घरहरूमा क्षति पुगेको छ।
सरकारी कार्यालयदेखि पार्टी कार्यलय र भाटभटेनी सुपरस्टोरमा समेत गएर राजावादीहरूले लुटपाट र आगजानी गरेका छन्। उनीहरूले तीनकुनेको एउटा घरमा लगाएको आगोमा परी एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको मृत्यु भएको छ। अर्का एक जना प्रदर्शकारीको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको छ।
त्यस्तै कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र अन्नपूर्ण मिडियामा आगजनीको प्रयास भएको छ। जडिबुटी उद्योगमा आगजनी भएको छ।
तीनकुनेमा सुरक्षाकर्मीले घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि भिड तितरबितर भएको थियो।
त्यसैबीच राजावादी आन्दोलनका कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरीलाई 'किच्ने गरी' भिडमा गाडी अगाडि बढाएपछि राजावादीहरूको भिड उत्साही र आक्रामक हुन पुगेको थियो।
प्रसाईंले प्रहरीमाझ गाडी कुदाउन खोज्दा पनि प्रहरी मुकदर्शक बनेको थियो। एक प्रहरीले प्रसाईंको गाडीको चाबी खोस्न खोजेका थिए। तर प्रसाईंले प्रहरीको भिडलाई छिचोल्दै गाडी हुइँक्याए।
त्यसपछि राजावादीहरूको भिड झनै उत्तेजित हुन थाल्यो। प्रहरीमाथि ढुंगा प्रहार हुन थाल्यो। त्यसपछि भिड नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ।
यसअघि २०८० पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्न पाउने नपाउने भन्ने विषयमा विवादपछि प्रदर्शन हुँदा तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइएको थियो।
झन्डै तीन हजार बेरोजगार युवा एकत्रित भएर प्रदर्शन गर्ने सूचना पाए पनि प्रहरीले समयमै भिड नियन्त्रणका लागि आवश्यक कदम चाल्न सकेन। घटना नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपर्ने अवस्था आयो। जसका कारण अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत मारिए।
२०७९ फागुन १ काठमाडौंको नयाँ बसपार्कमा यातायात मजदुरको प्रदर्शनका क्रममा ल्होत्स मलमा लुटपाट भयो। युवा उमेरका यातायात मजदुरको प्रदर्शनको सूचना पाए पनि प्रहरी भिड नियन्त्रण गर्न चुक्यो। ल्होत्से मलबाट झन्डै ८ करोड रूपैयाँ बराबरको मालसामान लुटपाट भयो।
२०८० भदौ ५ गते भक्तपुरको बाल सुधार गृहमा एक बालकको उपचारमा बेवास्ता गरेको भन्दै सुधार गृहमा रहेका किशोरहरूले प्रदर्शन गरे। जबकि यस्ता सुधार गृहमा सादा पोशाकमा प्रहरी रहन्छन्। सुधार गृहबाट भागेका बालक र किशोरले भक्तपुरको सडकमा प्रदर्शन गर्दै र बन्द गराउँदै हिँडे। त्रासको स्थिति बन्यो।
सुधार गृहबाट २ सय २१ किशोर भागे। सुरक्षामा खटिएका प्रहरीमाथि नै आक्रमण गर्दै उनीहरूले गेट फुटाएका थिए । यसरी आफ्नै प्रहरी भएका ठाउँबाट किशोर/किशोरीको समूह निस्किएर मूल सडकमा घण्टौं सवारी अवरोध गरे। किशोर/किशोरीसँगको झडपमा प्रहरी घाइते भए।
यी पछिल्ला घटनाक्रमहरूले प्रहरी भिड जम्मा भएपछि हुन सक्ने प्रदर्शन र क्षतिबारे आकलन र विश्लेषण गर्न चुकेको देखिन्छ। त्यसपछि भिड नियन्त्रण गर्न पनि चुकेको देखिन्छ।
किन त्यस्तो भइरहेको छ? प्रहरी किन बारम्बार चुकीरहेको छ?
काठमाडौं उपत्यकाको अपरेसनमा लामो समय काम गरेका नेपाल प्रहरीका पूर्वएआइजी उत्तमराज सुवेदी भिड नियन्त्रणमा प्रहरी चुक्नुका केही कारणहरू रहेको बताउँछन्।
सुवेदीका अनुसार भिड नियन्त्रणमा खट्ने प्रहरीसँग आवश्यक सामग्रीकै अभाव हुनु पहिलो कारण हो।
'प्रहरीको व्यक्तिगत करिअर सुरक्षित छैन। उसलाई सुविधा छैन। अनि स्रोत र साधन पनि छैन,' सुवेदीले सेतोपाटीसँग भने, 'दंगा र भिड नियन्त्रणका लागि प्रहरीसँग पर्याप्त सामान छैन। हेलमेटको फित्ता नभएको, भाइजर नभएको अवस्था छ। पोशाक पनि सबैलाई पुर्याउन सकिएको छैन। आन्दोलन हुँदा जिल्लाबाट झिकाउनुपर्ने अवस्था छ। अश्रु ग्यासको म्याद सकिएको छ। मिस–फायर हुने अवस्था छ।'
दोस्रो, प्रहरी 'एक्सन' मा उत्रिँदा माथिल्लो तहले जिम्मेवारी नलिने गरेका कारण प्रहरीको मनोबल खस्किएको सुवेदी बताउँछन्।
'फिल्डमा खटिएका कमान्डरलाई आफू सुरक्षसत हुने आत्मविश्वास छैन। दुबिधामा निर्णय लिन्छन्,' सुवेदीले भने, 'फिल्डमा खटिएको कमान्डरले भिड नियन्त्रणमा चालेको कदमको माथिल्लो तहको अधिकारीले रक्षा गर्छ भन्ने विश्वास छैन।'
तेस्रो, प्रहरीमा सही मान्छे सही ठाउँमा (राइट म्यान राइट प्लेस) को सिद्धान्त लागू नहुँदा समस्या भएको उनले बताए।
'सबै मान्छे सबै ठाउँमा फिट नहुन सक्छन्। मैले कमान्डर तहमा भनेको हो,' सुवेदीले भने, 'कमान्डर नै अलमल भएका बेला प्रहरीको सिपाहीको मनोबल उच्च हुँदैन।'
सुवेदी प्रहरीमा सूचना विश्लेषण पनि कमजोर भएको स्वीकार गर्छन्।
बालकुमारीको घटनामा २० वर्षदेखि ३० वर्षका बेरोजगार युवाहरू इपिएस कार्यालय घेराउ गर्न गएका थिए।
'त्यसको जोखिम र खतरा आकलन प्रहरीले गर्न सकेन,' सुवेदीले भने, 'भक्तपुरको सुधार गृहमा प्रहरी नै सादा पोशाकमा थियो। तर त्यहाँ के खिचडी पाकिरहेको छ भन्ने सूचना प्रहरीले प्राप्त गर्न सकेन।'
तीनकुनेमा शुक्रबार भएको घटनामा पनि प्रहरी सुरक्षा 'थ्रेट' विश्लेषण गर्न चुकेको बताए।
'प्रहरीलाई सूचना थिएन भन्ने मान्न सकिँदैन,' सुवेदीले भने, 'विश्लेषण पुगेन।'
प्रहरीलाई राजनीतिक नेतृत्वले संयमता अपनाउनू भनेर निर्देशन हुने गरेका कारणले पनि कतिपय घटनामा समयमै एक्सनमा उत्रिन नसकेको उनले बताए।
'कहीँ बल प्रयोग गर्दा नकारात्मक घटना भयो वा नतिजा आयो भने त्यसको जिम्मेवारी लिनुको सट्टा नेतृत्व पन्छिने गरेको छ। बर्दियाको राजापुरको घटनामा सिडिओले मैले आदेश दिएको छैन भनेर पन्छिनुभयो। गृहमन्त्रीले संसदमा मैले आदेश दिएको छैन भनेर भन्नुभयो,' सुवेदीले भने, 'यसरी नेतृत्व पन्छिन मिल्छ? कुन परिस्थितिमा प्रहरीले गोली प्रहार गरेको छ भन्ने बुझ्नुपर्थ्यो। बिग्रिएपछि प्रहरीको टाउकोमा हाल्ने काम हुने गरेको छ।'
उनले पछिल्लो समय भिड नियन्त्रणमा खटिने प्रहरीलाई ब्रिफिङमा समेत बल प्रयोग नगर्न भन्न थालिएकाले समस्या भएको बताउँछन्।
'कथाले मागे अनुसार पटकथा हुन्छ,' सुवेदीले भने, 'हतियार दिने तर नचलाऊ भन्ने भयो।'
पूर्व प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमै प्रहरीसँग भिड नियन्त्रणका लागि आवश्यक सामग्री अभाव भएको बताएका थिए। बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिमा जानकारी गराउँदै कुँवरले काठमाडौं र ललितपुरको प्रहरीले फरक फरक च्यानलमा कुराकानी गर्नुपर्ने अवस्था भएको उल्लेख गरे। यस कारण समन्वयनमा समेत कमी हुने गरेको बताएका थिए।
तत्कालीन आइजिपी कुँवरले समितिको बैठकमै प्रहरीसँग भिड नियन्त्रणका लागि सवारी साधन र सुरक्षा 'शिल्ड' नभएको बताएका थिए।
दुर्गा प्रसाईंको पहिले बल्खुमा हुने भनिएको आन्दोलन नियन्त्रणका लागि बुटवल र पोखराबाट प्रहरीका लागि भिड नियन्त्रणको पोशाक र छेकबार गर्ने सामग्री मगाइएको उनले बताएका थिए।
'हामी यस्ता विषयमा पनि संवेदनशील हुनुपर्नेछ,' कुँवरले भनेका थिए, 'हामीले आफै सञ्चार साधन किन्न सक्दैनौं। विदेशीले दिएको सहायतमा भर पर्नुपर्ने अवस्था छ।'