दाङको तुलसीपुरबाट तीर्थ यात्राका लागि भारत गएका चार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैंकी ८२ वर्षीया धनमाया वली र उनका श्रीमान ८६ वर्षीय जितबहादुर वली, एसयुभी चालक तुलसीपुर–७ पर्सेनीका ३८ वर्षीय युवराज चापागाईं र तुलसीपुर–४ गोठीखोलाका ७१ वर्षीय परवीर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
त्यस्तै तुलसीपुर–७ की ३५ वर्षीया कैलासी वली, ५२ वर्षीया नौमती खड्का, तुलसीपुर–३ दमारगाउँकी ५० वर्षीया कृकुली खड्का, तुलसीपुर–४ का ५० वर्षीय मनबहादुर खड्का र तुलसीपुर–४ का ६९ वर्षीय लालमणि खत्री गरी ७ जना घाइते छन्। घाइते सबैको भारतमै उपचार जारी रहेको प्रहरीले बताएको छ।
उनीहरू सबै भारतको तीर्थ यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट एसयुभी बुक गरी गएका थिए। भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको गाडी नेपाल दाङको कोइलाबास नाका–भारत सीमा क्षेत्रभन्दा झन्डै १२ किलोमिटर पर दुर्घटनामा परेको थियो।
दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको थियो। साइकल यात्रुलाई जोगाउन खोज्दा गाडी पोलमा ठोक्किएको भन्ने खबर आएको प्रहरीले जानकारी दिएको छ।