कम्तीमा हप्ताको दुई दिन एक वर्षसम्म श्रीमान-श्रीमतीको शारीरिक सम्पर्क भइरहँदा पनि गर्भ रहेन भने त्यसलाई बाँझोपना (इन्फर्टिलिटी) भनिन्छ। यदि पुरूषका कारणले त्यो बाझोपना भएको हो भने त्यसलाई 'मेल इन्फर्टिलिटी' भनिन्छ।
जति पनि बाँझोपनाका कारण देखिएका छन तीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूषका कारण भएको पाइएको छ।
नेपालको सन्दर्भमा भन्ने हो भने १० देखि १५ प्रतिशतले दम्पतीले चाहना राखेर पनि बच्चा जन्माउन सकेका छैनन्। त्यसमा ४० प्रतिशत पुरूषको कारणले भनेर बुझ्न सकिन्छ। पुरूषको प्रजनन क्षमता कम हुनु या नहुनमा विभिन्न कारण हुन्छन्।
पहिलो त पुरूषको विर्यको संख्या कम हुने हुन्छ भने कतिको शून्य हुन्छ। कसैको जन्मजात रोग हुनसक्छ भने कतिको पछि हुनसक्छ। जसको विर्य हुने सम्भावना हुँदैन उनीहरूले डोनरबाट लिनुपर्ने हुन्छ।
दोस्रो कुरा कहिलेकाहीँ विर्यको गुणस्तर कम हुन्छ।
हर्मोनको कारणले विर्य कम हुन सक्छ। त्यस्तो अवस्थामा हर्मोनको उपचार गरेर ठीक हुन्छ। त्यस्तै हाइड्रोसिल, हर्निया लगायतका रोगको कारणले समेत पुरूषको विर्य संख्या कम हुनसक्छ। त्यसको लागि अपरेसन गरेर उपचार गर्न सकिन्छ।
पुरूषको प्रजनन क्षमता कहिलेसम्म भनेर जिज्ञासा आइरहेका हुन्छन्। महिलाको महिनावारी सुकेपछि अण्डा निस्किँदैन। तर पुरूषको विर्य बन्ने क्रम रहिरहन्छ। त्यो संख्या कम भने हुन्छ अनि शारीरिक सम्पर्कको लागि इच्छाशक्ति समेत कम हुन्छ।
२५ देखि ४५ वर्षको उमेरसम्म पुरूषको प्रजनन क्षमता धेरै हुन्छ। त्यसपछि उनीहरूमा शारीरिक सम्पर्कमा रहने चाहना कम हुन्छ। शारीरिक सम्पर्ककै चाहना कम भएपछि गर्भ रहने सम्भावना स्वाभाविक रूपमा थोरै हुन्छ।
पछिल्लो समय पुरूषको प्रजनन क्षमता कमजोर हुँदै आएको छ अनि 'इन्फर्टिलिटी' समेत बढिरहेको छ। यसको मुख्य कारण उनीहरूको जीवनशैली हो।
व्यायामको कमी, चुरोट, रक्सी, सुर्ती सेवन अनि युवाअवस्थामै सुगर, थाइरोइडको समस्या लगायतले यस्तो भइरहेको छ। अर्को कुरा संक्रमण हो। धेरै जना पार्टनर बनाउँदा त्यसको विभिन्न खालका संक्रमण निम्तिन सक्छन्। कडा व्यायाम गर्नेहरूको पनि प्रजनन क्षमता घट्न सक्छ।
अहिले कतिपय बच्चा भएन भनेर आउनेहरू खाडी मुलुकमा तातो तापक्रममा काम गर्नेहरू छन्। केमिकल भएको ठाउँमा काम गर्ने, एक्सरे रेडियसन हेजार्ड भएको ठाउँमा काम गर्ने अनि कस्मेटिक पसलको केमिकलमा काम गर्ने छन् भने उनीहरूलाई धेरै असर गर्न सक्छ।
बच्चा नजन्मिनुमा महिला र पुरूष उत्तिकै जिम्मेवार हुन्छन्। हाम्रो समाजले यो कुरालाई नबुझेका कारण अर्को बिहे गरेपछि भइहाल्छ भन्ने गलत बुझाइ थियो।
त्यसैले बाँझोपना भएका दम्पती आउँदा जहिले पनि श्रीमानश्रीमतीकै परीक्षण गरिन्छ। श्रीमतीको मात्र परीक्षण गरेर हुँदैन किनकि बच्चा नहुनुमा श्रीमानको पनि ४० प्रतिशत दोष छ। कहिलेकाहीँ सामान्य उपचारले पनि ९० प्रतिशत दम्पतीको समस्या समाधान भइरहेको हुन्छ।
(प्रा.डा.सुनिलमणि पोखरेल भरतपुर अस्पतालका प्रमुख कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र विभागीय प्रमुख हुन्। उनी भरतपुर सामुदायिक अस्पतालमा समेत कार्यरत छन्।)