काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।
शुक्रबार काठमाडौंका दुई ठाउँमा छुट्टाछुट्टै समूहले प्रदर्शन गर्दैछन्। त्यसले बिहान ११ बजेदेखि सवारी आवागमन प्रभावित हुने भएपछि महानगरले एसइईका विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने भएको हो।
महानगरले सवारी साधन उपलब्ध नभएर गन्तव्यवमा पुग्न नसक्ने परीक्षार्थीहरूले सम्पर्क गर्न भनेर महानगर प्रहरी बलका चार जनालाई सम्पर्क व्यक्ति तोकेको छ।
बानेश्वर क्षेत्रका विद्यार्थीले नगरप्रहरी उपरीक्षक कुमार अर्याललाई ९८५१०६८०९६ मा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै रत्नपार्क क्षेत्रका विद्यार्थीहरूले नगरप्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेलाई ९८५१०९३१७६ मा, नयाँ बसपार्क क्षेत्रकाले नगरप्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टलाई ९८५१२३३६३३ नम्बरमा र टेकु क्षेत्रमा नगरप्रहरी निरीक्षक प्रकाश पण्डितलाई ९८५१०५६३४६ नम्बरमा सम्पर्क गर्न सक्ने महानगर प्रहरी बलले जनाएको छ।
त्यस्तै हटलाइन सेवा ०१५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा पनि त्यस्ता विद्यार्थीहरूले सम्पर्क गर्न सक्नेछन्।
दुई स्थानमा हुने प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि काठमाडौंका विभिन्न सडकमा ट्राफिक डाइभर्सन गरिएका छन्।
सुन्धारा, न्युरोड , रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सडकमा बिहानैदेखि सवारी आवागमन बन्द गरिएका छन्।
भृकुटीमण्डपमा समाजवादी मोर्चाले गर्न लागेको सभाका लागि दिउँसो ललितपुरको कुपन्डोल र बबरमहलबाट निस्कने र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै रत्नपार्क हुँदै प्रदर्शनीमार्ग पुग्नेछ।
त्यस्तै कलंकी, सोह्रखुट्टे, मैतीदेवीबाट पनि र्याली निस्कने तय भएका कारण ती क्षेत्रहरूमा पनि सवारी अवरूद्ध हुने आकलन छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले तीनकुनेमा गर्न लागेको सभाका लागि पनि सिनामंगल, बानेश्वर सहित भक्तपुरबाट पनि र्याली निकालिने भएकाले कोटेश्व-बानेश्वर सडकमा पनि सवारी आवागमन प्रभावित हुने देखिएको छ।