मकवानपुरमा बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएको छ।
शनिबार बिहान ३:१५ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर बजारस्थित पूर्व-पश्चिम सडक खण्डमा बसको ठक्करबाट म्याजिक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका- ४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ठाकुर प्रसाद सापकोटाका अनुसार चितवन जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडीमा कोइराला एक्लै थिए। उनी मनहरीबाट चितवन जाँदै थिए।
चितवनबाट हेटौडा आउदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बससँग ठोक्किएपछि कोइराला गम्भीर घाइत भएका थिए। उनलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पुर्याएकोमा बिहान ४:१५ बजे चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर सापकोटाले जानकारी दिएका छन्।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
म्याजिक चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरोध गरेका छन्। स्थानीयको अवरोधका कारण नारायणघाट हेटौंडा सडकमा यातायात अवरूद्ध भएको इन्स्पेक्टर सापकोटाले जानकारी दिए।
'उहाँहरुसँग छलफमा छौं। यातायात अवरूद्ध नहुने स्थिति बनाउने प्रयत्न भइरहेको छ,' इन्स्पेक्टर सापकोटाले भने।