शुक्रबार काठमाडौंका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ।
नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्।
काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजावादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ।
बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै समूहलाई ११ बजेपछि मात्रै कार्यक्रम सुरू गर्न भनेको छ।
समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने तय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले जानकारी दिए।
उनका अनुसार मोर्चामा रहेका चार दलले चार छुट्टाछुट्टै स्थानबाट र्याली निस्कनेछ।
माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्याली निकाल्नेछ। माओवादी केन्द्रले निकाल्ने र्याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ।
माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्याली निकाल्ने छ। उक्त र्याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्याली निकाल्नेछ।
उनीहरूको र्याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने प्रवक्ता प्रकाण्डले बताए।
नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्याली निकाल्नेछ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी)ले र्याली निकाल्नेछ। मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ।
चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने नेता विश्वकर्माले बताए।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन्। सो प्रदर्शनलाई राप्रपा लगायत राजावादी दलहरूको समर्थन छ। प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकाल्ने तयारी गरेका छन्।
दुई समूहले फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ।
दुई फरक फरक विचारधाराका समूहले एकैदिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्त एसएसपी शेखर खनालका अनुसार दुई पक्ष भेट हुने र मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै शुक्रबारको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने उनले बताए। 'आवश्यकता अनुसार थप प्रहरी पनि परिचालन हुन्छ। पट्रोलिङ टोली, सादा पोसाकमा पनि प्रहरी खटिनेछन्,' एसएपपी खनालले भने।
भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल घुम्ने सडक बिहानैदेखि बन्द गरिएको छ। विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार बिहानको समयमा काठमाडौंमा सहज रूपमा यातायात सञ्चालन भइरहेका छन्।
दिउँसो पनि ट्राफिक व्यवस्थापनका लागि ९०० जना भन्दा बढी ट्राफिक प्रहरी खटाइने उनले बताए।
'आवश्यक स्थानमा डाइभर्सन हुन्छ। बिहानैदेखि पद्मोदय, सिंहदरबार दक्षिण गेट, जयनेपाल, बागबजार, भद्रकाली, रत्नपार्क क्षेत्रमा डाइभर्सन गरिएको छ। दिउँसो आवश्यकताअनुसार गर्छौं,' उनले भने।
दल र राजावादी समूहले र्याली गर्ने भनेका स्थानहरूमा यातायात प्रभावित हुने प्रहरीको आकलन छ
उपत्यकाका सार्वजनिक यातायाताहरूको बस बिसौनी मुख्यगरी सुन्धारा र रत्नपार्क क्षेत्र नै हो। सोही स्थानमा सवारी आवागमन बन्द हुँदा ट्राफिक व्यवस्थापन चुनौती हुने नै भयो।
'सार्वजनिक सवारी हिँड्ने मुख्य रूटबाटै र्याली हुने भएपछि यातायात प्रभावित हुन्छन् त्यसको व्यवस्थापन हामी सक्दो गर्नेछौं,' एसपी गिरीले भने।