रत्ननगरको बछौली गाउँमा बस्नेलाई वन, वन्यजन्तु र पर्यटनको विषयमा धेरै सिकाउन पर्दैन। यो ठाउँ चितवन राष्ट्रिय निकुञ्ज र पर्यटकीय क्षेत्र सौराहासँग जोडिएको छ। जंगली जनावरहरू उनीहरूको खेतसम्मै आइपुग्छन्। पर्यटकहरू उनीहरूको आसपासमै डुल्छन्।
स्थानीय युवा प्रकाश चौधरी अनुभवकै आधारमा पर्यटकसँग धेरै पटक जंगल घुम्न गएका छन्। उनको काँधमा अब भने संरक्षणको जिम्मेवारी पनि थपिएको छ। प्रकाशको चिनारी अब चितवन राष्ट्रिय निकुञ्जको नेचर गाइडको रूपमा हुनेछ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र तराई भूपरिधि कार्यक्रम (ताल) को आर्थिक तथा प्राविधिक सहयोगमा तालिम पाएपछि चितवन र पर्सा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका प्रकाशसहित २३ जना युवाहरू नेचर गाइड बनेका छन्। यसमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले समन्वय गरेका थिए।

‘गैंडा र बँदेलले हाम्रो खेतमा लगाएको बाली कयौं पटक सखाप पारेका छन्। गैंडाले मेरा धेरै आफन्तलाई आक्रमण गरेको छ। नजान्दा त मलाई जनावरसँग खुबै रिस उठ्थ्यो। तर जब यो ठाउँ उनीहरूको पुर्ख्यौली हो भन्ने थाहा पाएँ मलाई जनावरदेखि बेस्सरी माया पलायो,’ चौधरीले भने, ‘हामी नै उनीहरूको ठाउँमा बसेका रहेछौं भनेपछि उनीहरूसँग रिसाएर त केही हुँदैन। बरू माया गर्यो भने आम्दानी पनि हुने रहेछ भन्ने थाहा पाएँ। अनि संरक्षणमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानतिर लागें।’
दिगो संरक्षणमा यो अभियानमा स्वयंसेवकका रूपमा खटेका युवाहरूको सहभागितालाई सुनिश्चित गर्ने अभिप्रायले डब्लुडब्लुएफ र तालले स्वरोजगार बनाउने अभियान सुरू गरेको हो।
नेपालको कमला नदीदेखि महाकाली नदी सम्मको क्षेत्रमा काम गर्दै आएको तराई भूपरिधि कार्यक्रमका पूर्वी क्षेत्रका प्रमुख प्रेम पौडेलले युवाहरुलाई सीपसँग जोडेर सीपमार्फत् जैविक विविधता संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्य रहेको बताए।
युवा सशक्तीकरण परियोजना सञ्चालन गरेर २३ जनालाई नेचर गाइड र ७७ जनालाई बारिस्ता, कुक, बेकरी, व्युटिपर्लर, मेकानिक्स तालिम (सिटिइभिटी अन्तर्गतको आवासीय) दिइएको उनले बताए।
‘आयआर्जनमा सुधार भयो भने संरक्षणमा लाग्न प्रोत्साहन मिल्छ। त्यसैले हामीले स्थानीय युवाहरूलाई स्वरोजगार बनाएर वनसँगको नातालाई अझै प्रगाढ बनाउने प्रयास गरेका हौं,’ पौडेलले भने, ‘उनीहरू यसअघि स्वयंसेवकको रूपमा संरक्षणमा सघाउँथे। अब स्वरोजगार बनेर संरक्षणप्रतिको दायित्व निभाउनेछन्।’
सबै युवालाई वन्यजन्तुको आनीबानी, उनीहरूबाट बच्ने तरिका, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने, चोरी सिकारी नियन्त्रणका उपायबारे सिकाइएको थियो।
मकवानपुरको मनहरी–६ का वर्षा राई र योजना राई कफी बनाउने बारिस्टा तालिम पाएपछि खुसी छन्।

कक्षा १२ उत्तीर्ण भएर घरमै बसिरहेका उनीहरूले यो तालिम पाएका थिए।
‘हाम्रो कृषक परिवार हो। खेत जंगल नजिकै भएकाले जनाबरबाट अन्न जोगाउन गाह्रो हुन्थ्यो। आयआर्जनको वैकल्पिक व्यवस्था थिएन। कफी बनाउन जानेपछि अब रोजगारी पाइन्छ होला,’ वर्षा राईले भनिन्।
उनले सीपको विकाससँगै स्थानीयबासीलाई संरक्षणबारे बुझाउन पनि सक्ने भएको बताइन्।
कावासोती–१० रतवलकी राधाकुमारी महतो, भरतपुर–२८ जीतपुरकी सन्ध्याकुमारी महतो, भरतपुर–२७ मेघौली धरमपुरका मनोज भट्टराईले नेचर गाइडको तालिम सकेर काम सुरू गरिसके।
भारतको नयाँ दिल्लीमा सूचना प्रविधिमा स्नातक गरेका २८ वर्षीय भट्टराईले पढाइअनुसारको जागिरभन्दा प्रकृतिको काख प्यारो भएको बताए।
उनले केही समय रोजगारी गरेपछि आफ्नै गाउँमा फर्किएर होमस्टे खोलेका थिए।

‘विदेश जाने अवसर पनि थियो। तर सानैदेखि वनको छेउमा रहेकाले मलाई यतैको वातावरणले तान्यो। अब त म लाइसेन्स प्राप्त नेचर गाइड पनि बनें। दायित्वबोध गर्दै संरक्षणमा सक्रिय हुन्छु,’ उनले भने।
पर्सा निकुञ्जको मनहरी र चितवन निकुञ्जअन्तर्गतको मृगकुञ्ज, लामिचौर, मेघौली, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका एक सय जना युवाहरूलाई स्वरोजगार तालिम दिइएको तालका पूर्वी क्षेत्र प्रमुख पौडेलले बताए।
तालिम दिएर अति आवश्यक पर्ने सामग्री प्रदान गर्नमा एक करोड १२ लाख रुपैयाँ खर्च भएको छ। तीन वर्षको परियोजना अबको एक वर्ष उनीहरूलाई रोजगारी दिलाउनमा केन्द्रित हुने जानकारी पौडेलले दिए।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले कोरोना महामारीसँगै संरक्षणमा युवाहरुको सहभागिता घटेको बताउँछन्।
‘यही कुरालाई मध्यनगर गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सुझावको आधारमा युवा केन्द्रित कार्यक्रम सुरू गरिएको हो,’ ढुंगानाले भने, ‘युवालाई संरक्षणमा जोड्न उनीहरूको आर्थिक अवस्था मजबुद पार्नैपर्छ। स्वरोजगार बनेभने संरक्षणमा लाग्न प्रोत्साहन मिल्छ भनेर युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गरिएको हो।’
उनले तालिमप्राप्त एक सय युवाहरूले संरक्षणको दूत बनेर समुदायमा सचेतना फैलाउने बताए।
चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव प्रकृतिले दिएको सुन्दर उपहार भावी पुस्तामा हस्तान्तरण गर्न युवाहरुको सशक्त भूमिका रहेको बताउँछन्।

जैविक विविधताको संरक्षणमा धेरै चुनौतीहरू खडा भएको उनले बताए।
‘हामीले के बुझ्नुपर्छ भने चितवन राष्ट्रिय निकुञ्ज हाम्रोमात्रै होइन। संसारको सम्पत्ति हो। भावी पिँढीको पनि सम्पत्ति हो। उनीहरूका लागि पनि बचाएर राख्नु जरूरी छ,’ यादवले भने, ‘युवाहरूलाई संरक्षणमा प्रेरित गरेर गाउँ–गाउँमा जनचेतना फैलाउनुपर्छ।’
विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) का नेपाल प्रमुख घनश्याम गुरूङ प्रकृतिलाई जोगाउन सकेमात्रै पृथ्वी रहन्छ भन्ने कुरा युवाहरूले बुझ्नुपर्ने बताउँछन्।
उनले पर्यटन विकास र आर्थिक वृद्धिका लागि पनि प्रकृतिको संरक्षण गर्नैपर्ने बताए।
‘कुनै निकायमात्रै लागेर यो काम गर्न सकिँदैन। सरकारी निकाय मात्रैले त सक्दैसक्दैन। समुदायको भूमिका धेरै ठूलो हुन्छ,’ उनी भन्छन्, ‘युवाहरूलाई केन्द्रमा संरक्षणलाई राखेर काम गर्न प्रेरित गर्ने उद्देश्यले सीपसँग जोडिएको हो।’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षणका लागि समुदाय जागरूक बन्नुपर्ने बताए। यसका लागि स्थानीयबासीको जंगलसँगको निर्भरता हटाउनुपर्ने आवश्यकता रहेको उनी बताउँछन्।
‘वन, वन्यजन्तु देखाएर पर्यापर्यटनमार्फत आम्दानी लिनसक्ने बाटोहरू छन्। त्यसैले जैविक विविधतामा असर नगर्नेगरी गतिविधि हुनु जरूरी छ,’ पन्त भन्छन्, ‘निकुञ्जले विभिन्न निकायमार्फत समुदायको आयआर्जनमा वृद्धि गर्नका लागि आवश्यकपर्ने कार्यक्रमहरूलाई प्रोत्साहन गर्नुको कारण पनि त्यही हो।’