काठमाडौंका दुई ठाउँमा शुक्रबार प्रदर्शन हुने भएको छ।
नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले बेग्लाबेग्लै प्रदर्शन गर्न लागेका हुन्।
समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा प्रदर्शन गर्न लागेको हो भने प्रसाईं नेतृत्वको समूहले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा अघि सारेर प्रदर्शन गर्न लागेका हुन्।
प्रदर्शनका लागि दुवै पक्षले काठमाडौं प्रशासन कार्यालयबाट अनुमति लिइसकेका छन्।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार समाजवादी मोर्चालाई काठमाडौंको भृकुटीमण्डपमा र प्रसाईंलाई तीनकुनेमा प्रदर्शनका लागि अनुमति दिइएको छ।
दुवै कार्यक्रम शुक्रबार ११ बजेपछि मात्रै सुरू हुनेछ।
दुई वटा प्रदर्शनलाई छुट्टाछुट्टै ठाउँ तोकिएको छ। उनीहरूले विभिन्न ठाउँबाट र्यालीसमेत गर्ने भएकोले सवारी अस्तब्यस्त हुने सम्भावना छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले दुई ठाउँमा हुने प्रदर्शनका लागि प्रहरीले सुरक्षालगायत आवश्यक तयारी गरिसकेको बताए।
‘बिहान छिटो कार्यक्रम गर्दा एसइई परीक्षा दिने विद्यार्थीहरूलाई समेत असर पर्ने भएकाले हामीले ११ बजेपछि गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘हाम्रो तर्फबाट दिनुपर्ने सुरक्षाका लागि हामी तयार नै छौं।’
काठमाडौंमा शुक्रबार तीन हजारभन्दा बढी प्रहरी खटिनेछन्।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीले विभिन्न ठाउँबाट र्याली सुरू गर्ने तयारी गरेका छन्।
बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टे, मैतीदेवी, सुन्धारा, न्यूरोडलगायत क्षेत्रमा भेला भएर भृकुटीमण्डपमा र्याली गर्ने गरी कार्यक्रम तालिका सार्वजनिक गरेका छन्।
प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्यालीको तयारी गरिरहेका हुन्।
काठमाडौंमा बढी चाप हुने ठाउँमै प्रदर्शन हुने भएपछि ट्राफिक व्यवस्थापनको चुनौती छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले प्रदर्शनबाट हुनसक्ने जामलाई कम गर्नेगरी योजना बनाइरहेको बताए।
उनले शुक्रबार जाम हुनबाट रोक्नका लागि ठूला सार्वजनिक यातायातलाई काठमाडौं प्रवेशमा रोक्ने गरी छलफल भइरहेको बताए। सार्वजनिक यातायातलाई रिङरोडमा सिमित गर्ने योजना रहेको पनि उनले जानकारी दिए।
‘भोलि प्रदर्शनको कुरा छ। त्यसमा धेरै मानिस आउने अनुमान छ। कार्मक्रम स्थलको कारणले पनि जाम धेरै हुने अवस्था छ,’ उनले भने, ‘भित्रको बाटोमा सार्वजनिक यातायात नचलाउन भनेर खबर गरिरहेका छौं। सम्बन्धित निकायसँग छलफल गरिरहेका छौं।’
यसबारेमा विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरी जानकारी गराइरहेको पनि उनले बताए। निजी सवारीसाधनहरूलाई पनि थुप्रै ठाउँमा डाइभर्सन गर्नपर्ने हुनसक्ने उनले बताए। जसकारण कार्यक्रमस्थल आसपासका क्षेत्रमा समेत असर पर्नेछ।