मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका ७ जना प्राध्यापक तथा अनुसन्धानकर्ताले विभिन्न विधामा ६५ लाख रूपैयाँभन्दा बढीको अनुसन्धान वृत्ति प्राप्त गरेका छन्।
यसमा तीन किसिमका अनुसन्धान वृत्ति छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फबाट ६ जना प्राध्यापकले २८ लाख रूपैयाँभन्दा बढीको अनुसन्धान वृत्ति प्राप्त गरेको विश्वविद्यालयले जनाएको छ।
यो अनुसन्धान वृत्ति प्राप्त गरेकामध्ये डा. कीर्तिकुसुम जोशीले दिगो र लचक भवन निर्माणमा परम्परागत गिटीको प्रयोगबारे अनुसन्धान गर्ने छन्। डा. भूषण श्रेष्ठले नेपालको औषधीय च्याउबाट स्वास्थ्य सेवा उत्पादनमा अनुसन्धान गर्ने छन् भने डा. सविना श्रेष्ठले चित्लाङको बिरूवाबाट प्राकृतिक खाद्य रङको प्रयोगमा र डा. सर्वेशदास डंगोलले नेपालको स्थानीय कोदो र चामल संरक्षणका लागि रोग पत्ता लगाउनेबारे अनुसन्धान गर्ने छन्।
त्यस्तै, डा. रिजन महर्जनले प्रविधिको प्रयोगमार्फत् प्लास्टिक फोहोर व्यस्थापनमा तथा डा. झसनाथ अधिकारी सुबिनले फरेस्ट बायोमटेरियल विषयमा अनुसन्धान गर्ने छन्।
यसबाहेक विश्वविद्यालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको खुला प्रतिस्पर्धामार्फत् १२ लाखको अनुसन्धान वृत्ति पनि प्राप्त गरेको छ।
प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको 'युवा वैज्ञानिकहरूका लागि अनुसन्धान सहयोग' कार्यक्रममार्फत् चालू आर्थिक वर्ष २०८१/८२ मा बहुविधागत विधामा प्रमुख अनुसन्धानकर्ता डा. सर्वेशदास डंगोलले अनुसन्धान वृत्ति प्राप्त गरेका हुन्।
विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय स्तरमा पनि अनुसन्धान वृत्ति प्राप्त गरेका छन्।
डा. किशोर तिमल्सिनाले फिलिपिन्सको बहाए फाउन्डेसनको टिकाउ सामग्रीहरूबाट सुलभ, विपद् प्रतिरोधी तथा वातावरणमैत्री घर निर्माणसम्बन्धी अनुसन्धान गर्न २५ लाखको अनुसन्धान वृत्ति पाएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले डिजिटल प्रविधि, अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल विषयका पाँचवटा अनुसन्धान प्रयोगशाला सञ्चालन गरिरहेको छ। भविष्यमा साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशाला पनि स्थापना गर्ने तयारी छ।
मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय २०७९ साउन १८ गते संघीय संसदबाट पारित ऐनअनुसार खुलेको हो।