खोलामा माछा मार्ने क्रममा ढुंगाले च्यापिएर पाल्पामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५, चरचरेका १३ वर्षीय सुरेश रास्कोटीको मृत्यु भएको हो।
बुधबार दिउँसो साढे चार बजेतिर कालिमाटीस्थित डुम्रे खोलामा माछा मार्ने भन्दै गएका सुरेश खोलामा ढुंगामा च्यापिएको प्रहरीले जनाएको छ।
बालक खोलाको ढुंगामा च्यापिएको थाहा पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार गरी तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।