सारङकोटको डाँडामा पुग्दा उनी पहिले जति रोमाञ्चित हुन्थिन यसपालि त्यस्तो देखिएकी छैनन्। आँसुले भरिएका आँखा र पीडाले भरिएका अनुहार थियो।
७२ वर्षीया लोरेटा हुलवर्क पहिलोचोटी आएकी थिइनन् सारङकोट। पहिले पहिले श्रीमानको साथमा हुन्थे यसपालि उनको अस्तु लिएर आएकी थिइन्।
डाँडामा पुगिन्। श्रीमानसँगै हिँडेका बाटोहरू नियालिन्। भाँडोमा हालेर ल्याएको आफ्नो श्रीमानको अस्तुलाई स्वतन्त्र गरिदिइन् त्यही सारङकोटको डाँडाकाडामा।
छेउमै राखिएको थियो फिल हुलवर्कको तस्बिर। लोरेटाले तस्बिरमा फूल चढाइन् र आँखा स्मृतिमा पुगिन्।
नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उनको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो।
अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलो पटक सन् २००७ मा नेपाल आउनुभएको थियो। थाइल्याण्ड भ्रमणका क्रममा एकजना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उहाँको गन्तव्य नेपाल बन्न पुग्यो।
प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए। जहाँ गए पनि, जहाँ पुगे पनि, उनलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो ।
पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उहाँ हरेक वर्ष नेपाल आउन थाले। पोखराको शान्त वातावरण र फेवातालको किनारले उनलाई सान्त्वना र आनन्द प्रदान गर्थ्यो। एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उनले आफ्नो अधिकांश समय नेपालमै बिताउन थालिन्।
सन् २०१९ मा नेपाल बसाइँका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि विरामी परे। लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’ मा बस्दै आएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए।तर, समस्या निको भएन ।
एक महिनापछि लोरेटा नेपाल आए र उनलाई आफ्नै देश लगेपछि उपचार गरे। विडम्बना एउटा समस्या समाधान नहुँदै उनलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो । अन्ततः उपचारकै क्रममा छ महिनाअघि फिलको निधन भयो । बिरामी अवस्थामै नेपाललाई सम्झिरहेका फिलको आत्माको शान्तिका लागि उनकी पत्नी लोरेटा श्रीमान्को अस्तु लिएर नेपाल आएकी थिइन्।
श्रीमानको अस्तु लिएर सराङकोट डाँडामा पुगेकी लोरेटासँग पर्यटन व्यवसायी हरि भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि थिए।
लोरेटाले स्व. श्रीमान्को तस्बिरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन्। मुस्कुराइ रहेको श्रीमान्को तस्बिर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए । मौनताबीचका अनगिन्ती भावनासँगै उनले श्रीमान्को अस्तु सराङकोटको डाँडामा विर्सजन गरिन् ।
फिलले आफ्नो मृत्युपछि अस्तु नेपालमा सेलाइदिन भनेको लोरेटाले बताइन्।
'फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति थिए,' होटल सञ्चालक हरि भुजेलले भने, 'हामीले धेरै पटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौं, होली पर्व मनाएका छौं, मठमन्दिर देवालय पुगेका छौं, थुप्रैथुप्रै सम्झना छन् फिलसँग,' फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए।
फिल नेपालीको आतिथ्यता र यहाँको जीवनशैलीको खुलेर प्रशंसा गर्थे।
विशेष गरी, पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उनको बानी थियो ।
'फिल नेपाललाई यति माया गर्नुहुन्थ्यो कि उहाँ वर्षको झन्डै तीन महिना नेपालमै बिताउनुहुन्थ्यो । दुई महिना एक्लै रहनुहुन्थ्यो भने एक महिना लोरेटासँगै,' भुजेलले भने।
डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्सँग पोखरा घुम्न आउने गर्थिन्। अहिले पनि, लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ।
'फिलको नेपालप्रतिको माया र लोरेटाको समर्पणले यो क्षणलाई झन मार्मिक बनाएको छ । फिलको आत्मा नेपालका पहाड, नदी र नेपालीहरूको हृदयमा सधैँ बाँचिरहनेछ,' फिलका साथी विनय पौडेलले भावुक हुँदै भने।
एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गर्नुभएको थियो । जीवनको उत्तराद्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रह्यो ती दिनहरू सम्झँदै लोरेटाले एउटा पछुतो व्यक्त गरिन्।
'मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु,' लोरेटाले हल्का उदासीका साथ भने।
'मेरो साथमा फिल छैन तर उसँगका बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ,' लोरेटाले भनिन्, 'फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहनेछ । पोखरामा उहाँको सम्झना सधैँ जीवन्त रहनेछ।'