पश्चिम नवलपरासीको बर्दघाटमा विद्यार्थी बोकेको स्कुल बस, यात्रुवाहक बस र मोटरसाइकल ठक्कर खाँदा २० जना घाइते भएका छन्।
दुर्घटनामा १४ जना विद्यार्थीसहित २० जना घाइते भएका छन्।
प्रहरीका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडि भएको दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएका हुन्।
पूर्व-पश्चिम महेन्द्र राजमार्गमा सुस्ता गाउँपालिकामा कार्यरत प्राविधिक वीरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकललाई ठक्कर दिएको अनियन्त्रित भएको यात्रुवाहक बसले सडकमा रोकेर बिद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका वडा नम्बर १२ भुताहको ग्लोवल एकेडेमीको लु १ ख ८७० नम्बरको बसमा ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएकाहरूमध्ये गम्भीर १४ घाइतेहरूलाई युनिभर्सल मेडिकल कजेज भैरहवामा पठाइएको र अन्यको स्थानीय चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको स्थानीयले बताएका छन्।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जनकपुरका वीरेन्द्र मण्डल, स्कुल बस चालक मनबहादुर थापा, बिद्यार्थीहरू सोफिया घिमिरे, रमन अधिकारी, गणेश डुम्रे, श्रृष्टि, डेनिस, रेहन मुडवरी, बसमा सवार यात्रुहरू सैनामैनाकी भगवती अधिकारी, पवित्रा अधिकारी, ४ वर्षीया देविसा न्यौपानेको मात्र नाम खुलेको प्रहरीले जनाएको छ।