जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनको सट्टामा पोखरास्थित गणबाट अनन्तराज शर्मालाई पठाइएको स्रोतले जनाएको छ।
महायज्ञ गर्न औरही गाउँपालिका-५ मा रहेको दीपक मल्लिकको घर भत्काइएको विषयमा कमजोरी देखिएको भन्दै उनको सरूवा गरिएको पनि स्रोतले बताएको छ।
यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको पनि सरूवा गरी कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई पठाएको थियो। घर भत्काएर महायज्ञ गर्न लागेको विवाद बाहिरिएपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएका थिए।
उक्त निर्देशनपछि प्रहरीले पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पढ्नुस् चैत ८ गते प्रकाशित सम्बन्धित समाचारः
घर भत्काइएका दीपकले दिए पालिका अध्यक्षसहित ३ जना विरूद्ध जाहेरी—
महायज्ञ गर्न भनेर आफ्नो घर भत्काइएको भन्दै सिराहा, औरही गाउँपालिका-५ का दीपक मल्लिकले प्रहरीमा जाहेरी दिएका छन्।
शनिबार जिल्ला प्रहरी कार्यालय सिराहा पुगेर दीपकले गाउँपालिका अध्यक्षसहित तीन जनाविरूद्ध जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा जाहेरी दिएका हुन्।
औरहीका गाउँपालिका अध्यक्ष ५५ वर्षीय शिवजी यादव, पूर्ववडाध्यक्ष ३६ वर्षीय दिलीप यादव र महायज्ञका मूल गुरू बजरंग बाबालाई प्रतिवादी बनाएर जाहेरी दिएको उनले बताए।
'हामीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएर आएका छौं,' दीपकले भने।
जाहेरीमा जातीय छुवाछुत गरेको, घर तोडफोड गरी विस्थापति गराइएकाले कानुन बमोजिम कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिइनुपर्ने उल्लेख छ।
चैत १७ गतेदेखि हुन लागेको महायज्ञका लागि बजरंग बाबाको आदेशमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षले आफ्नो घर भत्काइदिएको दीपकको भनाइ छ।
'तिमी बसेको स्थानमा महायज्ञ लगाउनु छ, तिमी यहाँबाट हट्नुपर्छ, सर्नुपर्छ, सर्न मानेनौं भने गाउँपालिकाको रोजगारीबाट हट्नुपर्छ भनेर डर धम्की दिइरहेका थिए। म त्यहाँबाट हटेको थिइनँ। म काममा भएको बेला फागुन १० गते डोजर लगाएर घर भत्काइदिएका हुन्,' जाहेरीमा उल्लेख छ।
दीपक र उनकी श्रीमती अनिता गाउँपालिकाका कार्यालयमै कार्यरत छन्।
यो घटना सार्वजनिक भएपछि सरकारले चासो देखाएको थियो। गृह मन्त्रालयले शुक्रबार सिराहाका सिडिओ बासुदेव दाहाललाई पनि मन्त्रालय तानेको थियो।
शुक्रबार नै प्रहरीले पालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई पक्राउ गरेको थियो। गाउँपालिका अध्यक्ष यादवले भने दलित भएका कारण दीपकको घर भत्काइएको विषय इन्कार गर्दै आएका छन् उनले त्यहाँ कृषि बजार बनाउन प्रक्रिया अगाडि बढिसकेको र महायज्ञ लगत्तै काम सुरू हुने भएकाले सहमतिमै घर भत्काइएको र नजिकै अर्को घर बनाइदिएको बताएका छन्।
पालिकाले बनाइदिएको अर्को घर महायज्ञ हुने ठाउँबाट झण्डै ५ सय मिटर पर छ। बाँसको टाटीले बनेको उक्त टहरामा बिजुली र पानीको सुविधा समेत उपलब्ध नगराएको दीपकले बताएका छन्।
घर भत्काएर नयाँ ठाउँमा सारेपछि पुरानो ठाउँको माटोसमेत ताछेर फालिएको दीपकको परिवारको आरोप छ। घटना सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको थियो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले पनि घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाही माग गरेका थिए।
दीपक मल्लिक भन्छन्- अध्यक्षज्यूले नै यहाँ महायज्ञ हुँदैछ, अन्त सारिदिन्छौं भने