सशस्त्र प्रहरी बलले झापाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको दुइटा घरमा छापा मारेर करिब एक करोड रूपैयाँ बराबरका लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय, इटहरीको संयुक्त टोलीले मंगलबार ५९ बोरा लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको हो।
'कति मूल्यको सामान भन्ने यकिन त भएको छैन तर करिब एक करोड रूपैयाँ बराबरको हुन सक्ने अनुमान छ,' सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा र मोटरपार्ट्स बरामद भएको प्रहरीले जनाएको छ। ती घरमा ठूलो परिमाणमा अवैध सामान रहेको सूचना पाएपछि मंगलबार बिहानै नम्बर २ गण झापाबाट डिएसपिको कमान्डमा टोली खटाएर निगरानी गरी दिउँसो छापा मारिएको थियो।
बरामद सामान आवश्यक कार्यबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी लैजाने प्रक्रियामा छ।