नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा निकाली ठगी गरेको प्रकरणमा जिल्ला अदालत बाँकेले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
लिखित ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका प्रतिबादीमध्ये थप ६ जनालाई धरौटीमा छोड्न आदेश भएको छ।
जिल्ला अदालत बाँकेका सूचना अधिकारी सुरेश मल्लका अनुसार बाराको जितपुर नगरपालिका–३ का ३५ वर्षीय दिलीपकुमार सिंह, अछाम जिल्लाका ४७ वर्षीय टंकप्रसाद उपाध्याय र बाराको कलैया नगरपालिकाका २६ वर्षीय फिरोज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ की ४५ वर्षीया ईश्वरी माया रोक्कालाई ५० लाख र उनका छोरा २२ वर्षीय गौरव कार्कीलाई ३५ लाख रूपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।
त्यस्तै बाँकेको कोहलपुर घर भई बाँकेकै मुक्तिनाथ बैंकका शाखा प्रबन्धक अशोककुमार कोइरालासँग तीन लाख, कोहलपुर घर भई सोही बैंकको ऋण शाखामा कार्यरत कर्मचारी राजन थापा क्षेत्रीबाट तीन लाख, बाँकेको डुडुवा गाउँपालिका घर भई सोही बैंकमा कार्यरत अर्का कर्मचारी सञ्जय यादवसँग पनि तीन लाख रूपैयाँ धरौटी माग गरिएको छ।
जिल्ला अदालत बाँकेले जिल्ला मालपोत कार्यालय बाँकेमा लेखनदासको काम गर्ने श्रीधरा वलीलाई एक लाख २५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
फिरोज आलमको हकमा अदालतले चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो भने अन्य सबैका हकमा चैत ८ गते आदेश भएको थियो।
अदालतको आदेश अनुसार सोही दिन दिलीपकुमार सिंह, टंकप्रसाद उपाध्याय र फिरोज आलम पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखामा कार्यरत असई मणि लामिछानेले बताए। धरौटीमा छोड्न आदेश भए पनि ईश्वरी र उनका छोरा गौरवले तोकिएको धरौटी बुझाउन नसकेपछि थुनामै पठाइएको थियो।
मुक्तिनाथ बैंकका शाखा प्रबन्धक अशोककुमार कोइराला, कर्मचारी राजन थापा क्षेत्री, बैंकमा अर्का कर्मचारी सञ्जय यादव र जिल्ला मालपोत कार्यालय बाँकेमा लेखनदास श्रीधरा वली भने धरौटी बुझाएर छुटेका थिए।
उनीहरू सबै मिलेर बाँकेको डुडुवा गाउँपालिका–५ को १५१ र १५२ कित्ता नम्बरको ३३ कट्ठा जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाई बैंकमा पेस गरी एक करोड २० लाख रूपैयाँ निकालेर ठगी गरेका थिए। सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको थियो।
पुर्पक्षका लागि थुनामा पठाइएकामध्ये टंकप्रसाद उपाध्याय जग्गाको कीर्ते कागज बनाउने मुख्य पात्र रहेको अनुसन्धानबाट खुलेको छ।
यो ठगी प्रकरणमा ईश्वरीका श्रीमान ४६ वर्षीय श्रीकृष्ण कार्की र बाँके खजुरा गाउँपालिकाका ३५ वर्षीय सुशील प्रजापति फरार रहेको असई लामिछानेले बताए।
गार्मेन्ट व्यवसायी फिरोजलाई विभिन्न समयमा ठगी मुद्दा खेप्दै आएका दिलीपले बाँके डुडुवाको रेश्मा श्रेष्ठको नामको जग्गा बैंकबाट लिलाम हुन लागेको हुँदा लगानी गर्न उक्साएका थिए। दिलीपले नै तत्कालै ६० लाख रूपैयाँ रेश्मालाई ऋण दिएर डेढ करोड रूपैयाँको जग्गा फिरोजको नाममा पास हुने लालच फिरोजलाई देखाएका थिए। सोही अनुरूप काम भएपछि संगठित रूपमा सबै मिलेर नक्कली पुर्जा तयार पारी सोही कागज बैंकमा पेस गरेका थिए।
त्यो काममा धितो मूल्यांकन गर्न लागि फिल्डमा खटिने बैंकका कर्मचारीदेखि शाखा प्रबन्धक, मालपोतमा लेखनदासको काम गर्ने सबैको मिलेमतो पाइएको यसअघि नै प्रहरीले बताइसकेको थियो।
फिरोजको नाममा २०८० जेठ ३० गते मालपोत कार्यालयले जमिन धितो रहेको बैंकको नाममा धितो बन्धक पास भएको प्रमाण दिएको थियो। ती सबै कागजात फर्जी रूपमा तयार पारिएका थिए। सोही जग्गाको फर्जी कागज पेस गरी फिरोजले बैंकको केन्द्रीय कार्यालय काठमाडौंबाट एक करोड २० लाख रूपैयाँ झिकेका थिए।
त्यो बेला उनलाई सो जग्गाको वास्तविकता थाहै थिएन। यही साल असारमा उनले बैंकबाट फेरि ऋण लिन खोज्दा मालपोत कार्यालयले जमिनको विवरण खोज्यो। तब उनको नाममा जग्गा नै फेला परेन। त्यसपछि बल्ल फिरोजले ठगिएको चाल पाए।
सात महिनाअघि, बाँके प्रहरीले फिरोजलाई खोजेर घटना अनुसन्धान अघि बढायो। त्यतिखेर अदालतले फिरोजलाई धरौटीमा छोड्न आदेश दिएको असई मणि लामिछानेले बताएका थिए।
सम्बन्धित समाचारः