नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्धको नारा देखिएपछि प्राधिकरणको काम प्रभावित बनेको छ।
सोमबार देखिएको प्रधानमन्त्री विरूद्धको नारासहितको फोटो मंगलबार सार्वजनिक भएको थियो।
मंगलबार दिउँसो केही व्यक्ति कार्यालय प्रवेश गरेर हातपात र तोडफोड गरेको प्रमुख रामु श्रेष्ठले बताए।
प्रधानमन्त्रीविरूद्ध लेखेको भन्दै ती व्यक्तिहरूले कुटपिट गरेपछि आफू कार्यलय जान नसकेको उनले बताए।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले डिजिटल बोर्डमा कसरी प्रधानमन्त्रीविरूद्ध नारा डिस्प्ले भयो भन्ने विषयमा २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको थियो।
वितरण केन्द्र प्रमुख श्रेष्ठले कसरी प्रधानमन्त्रीको विषयमा डिस्प्ले भयो भन्ने थाहा नभएको बताए।
‘सिस्टम ह्याकिङ भएको हुनसक्छ, थाहा पाएपछि हटाइहालेका थियौं तर मंगलबार हाम्रै कर्मचारीले फेसबुकमा फोटो पोष्ट गरेपछि अवस्था जटिल बन्यो,’ उनले भने।
वितरण केन्द्रले विज्ञप्ति नै जारी गरेर सिस्टम ह्याक भएको दाबी पनि गरेको छ।
श्रेष्ठले कार्यालयमा प्रवेश गरेर हातपात र तोडफोड गर्नेलाई कारबाही गर्न माग गरेर प्रहरी र प्रशासन कार्यालयमा निवेदन दिएको बताए। तर जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी राजन खनालले हातपात भएको जानकारी नपाएको बताए।
नेकपा (एमाले)का भातृ संगठन राष्ट्रिय युवा संघ र अनेराश्ववियुले विज्ञप्ति जारी गरेर प्राधिकरणले राज्यविरूद्ध र अनुशासनहिन काम गरेको भन्दै निन्दा गरेका छन्।
युवा संघ चितवनका अध्यक्ष झलक भट्ट, भरतपुर महानगरका अध्यक्ष राम कार्की, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जारी गरेको संयुक्त विज्ञप्तिमा कार्यालय प्रमुखको राजीनामा माग गरेका छन्।