काठमाडौंको कालिमाटीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित एलआरआई स्कुल नजिकै दुई समूहबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
दुई समूहबीच होलीमा भएको विवादलाई लिएर सोमबार झडप भएको उनले बताए।
२१ वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड खुकुरी र मुक्का प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई अस्पतालले राति साढे ८ बजे मृत घोषणा गरेको थियो।
उनको टाउकोमा गहिरो चोट लागेको थियो।
नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौंडा घर भई हाल पुरानो नैकाप बस्ने २२ वर्षीय चक्रे भन्ने पवन तामाङ र पासाङ शेर्पा घाइते छन्।
उनीहरूको टाउकोमा चोट लागेको छ।
कुटपिट गर्नेहरूमध्ये रोहित पक्राउ परेका छन् भने अरू दुई जना फरार छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।