रातभरि तनावग्रस्त बनेको बेतहनी सोमबार बिहानदेखि शान्त छ।
बाँकेको डडुवा गाउँपालिका-२ मा आइतबार दिउँसो ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बेतहनी रातभरि तनावग्रस्त बनेको थियो।
बिहान मृतकका परिवार र ट्यांकर सञ्चालकबीच क्षतिपूर्तिसम्बन्धमा सहमति जुटेपछि स्थानीयले प्रदर्शन रोकेका थिए।
सहमति जुटेसँगकै परिस्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा पढ्ने ७ वर्षीय शिव गोडिया र उनका सहोदर दाइ ९ वर्षीय विशाल गोडिया शुक्रबार स्कुलबाट साइकलमा घर फर्किँदै गर्दा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो।
ठक्करबाट दाजुभाइको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित स्थानीयले ट्यांकर चालक बाँकेकै राप्तीसोनारी गाउँपालिका-४ पर्सुरामपुरका २२ वर्षीय कर्णबहादुर बुढालाई कुटपिट गरेका थिए।
बेतहनी प्रहरी चौकीमा चार पाँच जनामात्रै प्रहरी भएकाले परिस्थिति प्रहरीको नियन्त्रणबाहिर गएको थियो। पछि ४० प्रहरीसहित एसपी कार्की नै घटनास्थलमा खटिए। त्यसपछि ट्यांकर चालकलाई जिल्ला प्रहरी कार्यालय पठाएर एसपी कार्कीले स्थानीयहरूसँग छलफल गरेका थिए।
तर पनि परिस्थिति नियन्त्रणमा आएको थिएन।
आक्रोशित भिडले राति प्रहरी चौकिमै आक्रमण गरे। ढुंगामुडा, तोडफोड र आगजनी गरे। चौकीमा रहेका बन्दोबस्तीका सामग्री र लत्ताकपडा सबै नष्ट पारे। त्यहाँ रहेका ४ वटा मोटरसाइकल पनि आगजनी गरि नष्ट गरेर।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ३२ राउन्ड अश्रुग्यास र २० राउन्ड हवाइ फायर गरिएको एसपी कार्कीले जानकारी दिए। परिस्थिति नियन्त्रणमा लिन कठिन भएपछि एसपी कार्की सहायताका लागि अनुरोधपछि झन्डै डेढ सय प्रहरी घटनास्थल पुगेको थियो। सय जनाभन्दा बढी सशस्त्र प्रहरी पनि घटनास्थल पुगेको थियो।
त्यसपछि भने परिस्थिति क्रमशः नियन्त्रणमा आएको उनले बताए। दुई बालकको शवसमेत रातभरि सडकमै थियो। प्रहरी शव सुरक्षामा पनि खटिएका थिए।
घटनामा दस प्रहरी घाइते भएका छन्। उनीहरूको स्वास्थ्य सामान्य छ।
बिहानपख प्रहरीले नै ट्यांकर सञ्चालक र पीडित परिवारलाई छलफलमा राखेको थियो। उनीहरूबीच सहमति भएपछि तनावपूर्ण स्थिति मत्थर हुँदै गएको हो।
परिस्थिति सामान्य भएकाले घटनाबारे थप अनुसन्धान सुरू हुने उनले एसपी कार्कीले बताए।