कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ।
घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए।
स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएको थियो। तर बाटोखर्च नभएकाजस्ता विभिन्न समस्या देखाएर उनीहरू जंगलमै बसिरहेका थिए।
यी विदेशी नागरिकहरूमध्ये केही सोमबार उक्त ठाउँ छाडेर अन्यत्र गएका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले एक सय ५० जनाभन्दा बढी विदेशी नागरिकहरू सिमली जंगल बिनाअनुमति बस्दै आएकोमा हटाउन थालिएको बताए।
‘विदेशी नागरिकहरू केही दिनयता सिमली जंगल छाडिरहेका छन्। सोमबार १६ जनाले जंगल छाडेर गन्तव्यतर्फ लागेका छन्,’ उनले भने।
अमेरिका, भारत, चीन लगाएत विभिन्न देशका मानिसहरू जंगलमा बस्दै आएको सूचना पाएपछि स्थानीय प्रशासनले जंगलमै पुगेर सोधपुछ गरेको थियो।
गत बुधबार प्रमुख जिल्ला अधिकारी हमाल पनि जंगलमा पुगेर उनीहरूलाई भेटेका थिए। साथै २४ घन्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए।
प्रशासनको निर्देशनपछि केही मानिसले जंगल छाडेका थिए। तर केहीले खर्चपानी नभएको भन्दै जंगलमै बसिरहेका थिए। उनीहरूलाई सोमबार जंगल छाडिसक्न भनिएको उनले जानकारी दिए।
‘हामीले कडा निर्देशन दिएपछि विदेशी नागरिकहरू जंगल छाडेर गएका थिए। केही मानिस खर्चपानी छैन भन्नेहरू पनि सोमबार जंगल छाड्दैछन्। उनीहरूलाई जंगलबाट हटाउन प्रहरी परिचालन गरिएको छ,’ प्रजिअ हमालले भने।
स्थानीय प्रशासनले दिएको निर्देशन उल्लंघन गर्दै विदेशी नागरिक झन्डै २० दिनदेखि जंगलमै बस्दै आएका थिए।
‘रेन्बो फेमिली ग्यादरिङ,’ समूहका सदस्य बताउने विभिन्न देशका मानिस सोही ग्रुपमा जोडिएका कारण कैलालीको जंगलमा पुगेर बस्दै आएका थिए।
पर्यटक भिसामा नेपाल आएका उनीहरू आफूलाई ‘नेचर लभर’ भएको दाबी गर्दै आएका छन्।
उनीहरू अनुमति नै नलिएर जंगलमा बस्ने गरेको, आगो बालेर बस्ने गरेको, कतिपय मानिस लागुऔषध सेवन गरिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।