दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रीला प्लाई तथा भेनियर उद्योगमा लागेको आगो १० घण्टा बितिसक्दा पनि नियन्त्रणमा आएको छैन।
झन्डै ७ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग जिल्ला र नेपालकै ठूलोमध्येको हो। उद्योगले प्लाई उत्पादन गरी देशका विभिन्न जिल्लाहरू र भारतसमेत निर्यात गर्दै आएको थियो।
मध्यराति करिब १ बजेतिर सो उद्योगमा आगलागी भएको थियो। प्रहरीलाई २ बजेतिर खबर भएपछि आगलागी नियन्त्रणमा लिने प्रयास सुरू भएको थियो। कामदारहरू अन्यत्र बस्ने गरेको हुँदा पनि आगलागीबारे खबर गर्न ढिला भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहका अनुसार करिब १० घण्टा बित्दा ५० प्रतिशतमात्रै नियन्त्रणमा आएको बताए।
उद्योगमा तीव्र ज्वलनशील काठहरू भएकाले नियन्त्रणमा लिन कठिन भएको उनले बताए।
आगलागीबारे खबर पाएपछि सुरूमा घोराही उपमहानगरपालिकाको दमकल पुगेको थियो। त्यसलगत्तै तुलसीपुर उपमहानगर र लमही नगरपालिकाका दमकल पनि पुगेको थियो।
आगलागी भीषण भएकाले प्रहरीले जिल्लामा रहेका पानी ट्यांकरहरूको पनि सहयोग माग गर्यो। दर्जन ट्यांकरले पानी ओसारेपनि आगलागी नियन्त्रणमा आउन सकेन।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार त्यसपछि बर्दिया, रूपन्देही, कपिलवस्तु, बाँकेबाट पनि दकमल मगाइएको थियो।
कपिलवस्तुको चन्द्रौटा नगरपालिकाका २ वटा, रुपन्देहीबाट एउटा, बाँकेबाट दुई वटा, बर्दियाबाट एउटा दमकल आएर आगलागी निभाउने प्रयास जारी छ। आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरू खटिएका छन्।
उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति भएको छ। उद्योगमै राखिएका तीन वटा ट्रकहरू पनि जलेर नष्ट भएको छ।
उद्योगबाट १०० मिटरको दुरूसम्म रहेका १५ वटा र दुई सय मिटरसम्म रहेका ३० वटा घरका सदस्यहरूलाई सम्भावित दुर्घटनाबाट जोगाउन राति नै खुला स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।
उनका अनुसार बिहान १० बजेपछि सम्म पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।
‘भित्र निकै ज्वलनशील प्लाई, काठ जन्य वस्तु, मेसिन तथा औजारहरू रहेका कारण सल्किएको आगो निभाउन समयमै सम्भव भएन,’ उनले भने, ‘तर, हामी बस्ती जोगाउन भने सफल भयौं, त्यसमा सर्वसाधारण नागरिकले पनि ठूलो साथ दिए।’
उद्योग भित्र कुनै मजदुर वा कर्मचारी नबस्ने हुँदा मानवीय क्षति भने नभएको उनले बताए।
यतिखेर आगो उद्योग भित्र मात्रै बलिरहेको हुँदा त्यो अझै केही बेरको प्रयास पछि मात्रै पूर्ण रुपमा निभाउन सम्भव हुने उनले बताए।
डिएसपी चक्रबहादुर शाहले भित्रका सबै प्लाई, काठ, उद्योगका मेसिन लगाएत सबै सामग्री जलेर नष्ट भएको बताए।
क्षतिको विवरण यकिन भइनसकेको र त्यो विवरण पछि मात्रै संकलन हुने अधिकारीहरूले बताएका छन्।
‘करोडौं क्षति भएको अनुमान गर्न सकिन्छ,’ डिएसपी शाहले भने, ‘ठ्याक्कै यति नै क्षति भयो भन्ने सक्ने अवस्था अहिले छैन।’
आगोलागी कारण यकिन नभएपनि विद्युत सर्ट भएको हुनसक्ने प्रहरीको अनुमान छ।
आगो नियन्त्रणमा लिइसकेपछि आगलागीबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।