बाँकेको डुडुवा गाउँपालिका– २ बेतहनी दिनभर जसो शान्त थियो। सबै मानिस आ–आफ्नो तालमा थिए। एकाएक दिउँसो साढे तीन बज्दै गर्दा मानिसहरू अशान्त बन्न पुगे।
चोक नजिकै स्थानीय सात वर्षीय शिव र उनका ९ वर्षीय दाजु विशाल गोडियालाई स्कुलबाट साइकलमा घर फर्किँदै गर्दा पानी बोक्ने ट्यांकरले ठक्कर दियो।
ठक्करपछि उनीहरू फेरि उठ्न सकेनन्।
स्थानीयका अनुसार दुवै जना बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा पढिरहेका थिए। भर्खरै साइकल सिकेका विशालको पछाडि शिव बसेका थिए। भे १ ख ४१०७ नम्बरको ट्यांकरको अगाडिको छेउको भागले साइकललाई ठक्कर दियो। दाजुभाइ साइकलसहित लडे।
आफू प्रत्यक्षदर्शी भएको दाबी गर्दै एक स्थानीयका अनुसार चालकले ट्यांकर फर्काएर फेरि साइकललाई ठक्कर दिएका थिए। स्थानीयको यो आरोप पुष्टि भने भएको छैन।
'ट्यांकर ब्याक गरेर फेरि कुल्चिएपछि बालकहरूको मृत्यु भएको हो,' उनले भने।
बालकहरू सवार साइकल कच्याककुचुक अवस्थामा दुर्घटनास्थलमै छ।
घटनालगत्तै आक्रोशित स्थानीयले चालकमाथि कुटपिट गर्न थाले। ट्यांकरमा आगजनी गरे। आक्रोशित भिड बढ्दै जाँदा वातावरण थप तनावपूर्ण भयो।
त्यही बीचबाट चालक २२ वर्षीय कर्णबहादुर बुढा फुत्किन सफल भए। बेतहनी प्रहरी चौकीले उनलाई संरक्षण गर्यो।
'चालकले गाडी ब्याक गरेर बालकहरूलाई कुल्चिएको' हल्ला फैलियो।
चालकलाई प्रहरीले लुकाएकाले थुतेर ल्याउनुपर्छ भन्नेहरू बढे। भिड बेतहनी प्रहरी चौकीतिर बढ्यो। एकाएक अशान्त बनेको बेतहनीको अवस्था बुझेर बाँके जिल्ला प्रहरीको टिमले चालक कर्णबहादुरलाई नेपालगञ्ज कार्यालय लगिसकेको थियो। कर्णबहादुर बाँकेकै राप्ती सोनारी गाउँपालिका – ४ पर्शुरामपुरका हुन्।
बेतहनी चौकीमा जम्मा चार जना प्रहरी थिए। चालकलाई लुकाएको आरोपमा आक्रोशित भिडले प्रहरीलाई लखेट्न थाल्यो। गहुँ बारीमा प्रहरीलाई लखेटी लखेटी निर्घात कुटपिट गरे। पत्रकार चन्द्रेश्वर त्रिपाठीमाथि पनि आक्रोशित समूहले हातपात गर्यो। अन्य केही पत्रकारका मेमोरी कार्ड खोसे। कतिलाई खिचेका तस्बिर र भिडिओ डिलिट गर्न लगाए।
भिडले प्रहरी चौकी बेतहनीमा आगजनी गर्यो। केही व्यक्तिले लत्ताकपडा र सरसामान सबै जलाइदिए। चौकीमा रहेका मोटरसाइकलमा पनि आगजनी गरे। बाटोमा जोजसलाई भेटे, उसैलाई कुटे। कतिका मोटरसाइकल तोडफोड गरे।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै घटनास्थलमा खटिएका थिए। उनको आग्रह र माइकिङ भिडले वास्तै गरेन। भिड अगाडि बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी हवाइ फायर गर्यो।
यसरी साँझदेखि अशान्त बनेको बेतहनी अहिलेसम्म पनि शान्त भएको छैन। राति अबेरसम्म पनि मृतक दाजुभाइको शव सडकमै छ। भिडले शव उठाउन दिएको छैन।
घटनास्थलमा खटिएका सई मणि लामिछानेले स्थिति नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए। अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
'आज मुस्किलले ज्यान जोगाइयो,' लामिछानेले भने, 'आक्रोशित स्थानीयले आगजनी गरेर प्रहरी चौकीका सबै सामान पूर्ण रूपमा ध्वस्त पारे।'
दोषी चालक आफूहरूलाई बुझाउनुपर्ने तथा कडा कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयले राखेका छन्। प्रहरीका अनुसार चालकमाथि कुटपिट भएको छ। कुटपिटबाट अनुहार तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।
चालक कर्णबहादुरले भने अचानक दुई बालक अगाडि आएको र गाडी ब्रेक नलागेकाले दुर्घटना भएको प्रहरी समक्ष बयान गरेका छन्। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।