प्रहरी महानीरिक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरूको मानव अधिकारको पूर्ण प्रत्याभूति हुनेगरी व्यवस्थापन गरेको बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हिरासतमा रहेका व्यक्तिहरूलाई आधारभूत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताए।
उनले थुनुवाहरूलाई भौतिक संरचनाको मापदण्ड बमोजिम हिरासतमा राखिएको दाबी गरे।
उनले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरूबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको बताए।
प्रहरीको कतिपय इकाइमा भौतिक संरचना नभएका कारण थुनुवा राख्न समस्या रहेको उनको भनाइ छ।
उनले भने, ‘समग्रतामा हाम्रो भौतिक पूर्वाधारकै कुरा गर्दा अहिले बनेका भौतिक पूर्वाधारका कुरा गर्दा नयाँ बनेका विल्डिङहरूमा हामीले अहिलेको मापदण्ड बमोजिम हिरासतमा राख्ने, हिरासतमा रहने व्यक्तिहरूलाई, संकेतहरूलाई मानव अधिकारको पूर्ण रूपमा प्रत्याभूति हुनेगरी गाँस, बास र कपासको बेसिक निडका कुरालाई हामीले व्यवस्थापन गरेका छौँ, राज्यले गरेको छ र नेपाल प्रहरी नियुक्त छन् तर त्यस्ता प्रहरी इकाइमा त छन् तर हामीसँग २६ सय एक स्थायी संरचना छन्, अस्थायी पनि छन् र २४२ वटा युनिटहरू मुद्दा चल्ने युनिट पनि छन्। १०३९ युनिटमा हाम्रो भवन पनि छैन। भवन नै नभएको ठाउँमा पनि हामीले मानिस लिनुपर्यो, नियन्त्रणमा लिनुपर्यो त्यहाँ हामीलाई समस्या परेको छ।’
महानिरीक्षक थापाले गृहमन्त्रीको अग्रसरतामा देशभर लागुऔषध नियन्त्रणसम्बन्धी महाभियान सञ्चालन भइरहेको बताए। देशभर सक्रिय लागुऔषध कारोबारीको ठूलो संख्या प्रहरीले पक्राउ गरेर अनुसन्धान र कारबाही भइरहेको उनको भनाइ छ। – न्युज एजेन्सी नेपाल