भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्।
आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए।
मृतक खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन्।
उनी कवाडी सामान टिप्ने काम गर्थे। उनका अनुसार घटना शंकास्पद छ।
राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ।
‘ढुंगाले हिर्काएर हत्या भएको देखिन्छ। घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद गरेका छौं,’ डिएसपी नेउपानेले भने। प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको भने छैन।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।