दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको दुल्लु नगरपालिका – ६ का २१ वर्षीय गगनबहादुर खड्काको चट्याङ लागेर मृत्यु भएको छ।
शनिबार बेलुकी साढे ५ बजेतिर घरनजिकै गोठमा भैंसी सार्ने क्रममा खड्कालाई चट्याङ लागेको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार टाउकोमा चट्याङ लागेपछि खड्का बेहोस भएका थिए।
उनलाई साढे ६ बजेतिर दुल्लु अस्पताल पुर्याइएको थियो। केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
शब पोष्ट मार्टमका लागि दुल्लु अस्पतालमा राखिएको छ।
यता रोल्पामा पनि चट्याङले लागेर एउटा भैंसी मरेको छ।
जिल्लाको परिवर्तन गाउँपालिका – ४ सिरुवातीमा गमबहादुर वलीको गोठमा चट्याङ पर्दा एउटा भैंसी मरेको हो।
बेलुकी पाँच बजेतिर चट्याङ परेपछि ९१ हजार मूल्य बराबरको भैंसी मरेको प्रहरीले जानकारी दिएको छ।