चितवनमा शनिबार ‘सिक्सटी अर्थ आवर डे’ मनाइएको छ।
सिक्सटी अर्थ आवर डे प्रकृतिको संरक्षणका लागि मनाइन्छ। मानव समुदायको सुन्दर भविष्यका लागि प्रकृतिको संरक्षण गर्न जनचेतना जगाउने उद्देश्यले सिक्सटी अर्थ आवर डे मनाइन्छ।
सन् २००७ बाट वर्षमा एक घन्टा (६० मिनेट) विद्युतको उपयोग घटाई वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको भए पनि अहिले वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न विश्वभर यो दिवस मनाइन्छ। हरेक वर्षको मार्चको अन्तिम शनिबार मनाइने गरिएकोमा यस वर्ष शनिबार विश्व पानी दिवससँगै ६० अर्थ आवर डे पनि मनाइएको हो।
भरतपुरमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को आयोजना तथा बेटर चितवन र पौरखी एड्भरटिजमेन्ट एण्ड मिडिया सर्भिसेसको संयोजनमा साँस्कृतिक कार्यक्रम र प्रकृतिमैत्री सामग्री तथा खानाको प्रदर्शनी गरेर यो दिवस मनाइयो। गायिका तृष्णा गुरूङको गीतमा भरतपुरमा सयौं युवाहरू रमाएका थिए।
साथै भरतपुरको गेस्ट हाउस चौरमा रैथाने खाना, फोहोरलाई प्रयोग गरेर निर्माण गरिएका सामग्री, वन्यजन्तु तथा वन संरक्षण सम्बन्धी जनचेतनामूलक सामग्री, विगतमा जीविकोपार्जनका लागि वनमा आश्रित व्यक्तिहरुले आयआर्जनका लागि वैकल्पिक व्यवस्था भएपछि गरेको उत्पादनहरू प्रदर्शन गरिएका थिए।
बेटर चितवन संस्थाका संस्थापक सागर कार्कीले सरोकारवाला निकाय तथा युवाहरूलाई सरसफाइ सम्बन्धी जनचेतना जगाउन र संरक्षणमा प्रेरित गर्न यो कार्यक्रम फलदायी भएको बताए।
कार्यक्रममा डब्लुडब्लुएफका नेपाल निर्देशक डा. घनश्याम गुरूङले मान्छेले आफू बस्ने पृथ्वीलाई सुरक्षित राख्न नसकेसम्म आफू सुरक्षित बन्न नसक्ने बताए।
‘हामी आफूलाई बचाउनका लागि पनि पृथ्वी बचाउनुपर्छ भन्ने तरिकले सबैले काम गर्नु जरूरी छ। यो सन्देश सबैलाई बाँड्नुहोला,’ उनले भने।
चितवनमा पहिलो पटक यो दिवस मनाइएको हो। निर्देशक गुरूङका अनुसार यो दिवस यसअघि काठमाडौं बाहिर पोखरा र लुम्बिनीमा मनाइएको थियो।
दिवसको अवसर पारेर विहीबार र शुक्रबार संरक्षणकर्मीहरूले नारायणी नदी किनारमा सरसफाइ गरेका थिए। उनीहरुले संकलन भएको १७ सय ५० किलो फोहोरबाट नदी किनारमा ६० अंकको आकृति बनाएर सिक्स्टी अर्थ आवरको सन्देश दिएका थिए।




