विश्वभर विविध कार्यक्रम गर्दै आज विश्व पानी दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइन्छ।
विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो।
संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ।
दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्बर्द्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको भएतापनि काठमाडौं उपत्यकाका परम्परागत ढुङ्गेधारा र अन्य विभिन्न पानीका स्रोतहरू मासिँदै र सुक्दै गएका छन्, जसका कारण उपत्यका बासीहरु पानीका लागि ट्यांकर र जारको भर पर्नु परेको छ।
काठमाडौंमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ।
काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भएतापनि दैनिक १६ करोड लिटरमात्र केयूकेएल आपूर्ति गर्दै आएको छ। केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्यांकर, जार, बोतल, इनार, बोरिङ लगायत स्रोतबाट आपूर्ति हुन्छ।
उपत्यकामा पिउने पानीको आपूर्ति सबैभन्दा बढी जार ले ओगटेको छ।
नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख गोटा पानीको जार बिक्री हुन्छ।
दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरु हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ।
माइक्रोप्लास्टिकको साइज एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो हुन्छ भने यसको अधिकतम आकार ५ मिलिमिटरसम्म हुन्छ। माइक्रोप्लास्टिकभन्दा साना कणहरूलाई नैनोप्लास्टिक भनिन्छ। यो एक मिटरको एक करोडौं भाग हो।
उपभोक्ताले कस्ता खाद्य वस्तु उपभोग गरेका छ, ती वस्तुहरू स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छन् भन्ने कुराको अनुगमन र अनुसन्धान गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै लगभग ६ महिनादेखि जार र पानीको बोतलहरु अनुगमन नगरेको अवस्था छ।
स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ। तर पनि यसको सही अनुगमन र अनुसन्धान भने गरिएको छैन।
हाम्रो पानीका परम्परागत ढुङ्गेधारा (हिति) हरु मासिँदै छन् भने यस्ता हानिकारक जार र प्लास्टिक बोतलले त्यसको स्थान लिएको देखिन्छ।
काठमाडौं महनगरपालिकाको सामाजिक विकास शाखा मार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेको र जसमध्ये अनुसार ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, संकटमा परेर लोप हुन लागेको अवस्थाका १० वटा, हराएका २१ वटा र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा रहेका छन्।
तस्बिरहरूः














सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।