जुन ठाउँमा दाँत छैन, त्यो ठाउँमा दाँत राखिन्छ भने त्यसलाई दाँत प्रत्यारोपण भनिन्छ। दाँतको प्रत्यारोपण अहिले 'ट्रेन्डिङ' जस्तै बनेको छ। दाँतको जुन प्राकृतिक जरा हुन्छ त्यसको सट्टा टाइटेनियमको जरा राखेर दाँतलाई पहिलाको जस्तै बनाइन्छ। जसलाई मेडिकल भाषामा 'डेन्टल इम्प्लान्ट' भनिन्छ।
सबै अवस्थामा दाँतको प्रत्यारोपण गर्न मिल्छ कि मिल्दैन भनेर लाग्न सक्छ। कतिपय अवस्थामा दाँतको प्रत्यारोपण गर्न मिल्दैन। दाँत प्रत्यारोपण गर्नुभन्दा पहिला केही कुरा ख्याल गर्नुपर्छ। जस्तो: दाँत कहिले निकालिएको हो, दाँतको संरचना अनि गिजाको संरचना कस्तो छ भनेर हेर्नुपर्छ। त्यस्तै हड्डीको वरिपरिको संरचना कस्तो छ भन्ने आधारमा दाँत प्रत्यारोपण गर्न सकिने/नसकिने निर्धारण हुन्छ।
कुनै पनि बिरामीको दाँत छैन भने दाँतको प्रत्यारोपण गरिन्छ। केही वर्ष पहिलासम्म १/२ दाँत छैन भने दाँत प्रत्यारोपण गरिन्थ्यो। तर अहिले कस्तो अवस्था आयो भने तल माथि नै दाँत छैन भने पनि थोते भएर बस्नु पर्दैन। त्यस्तो अवस्थामा समेत तल ६ वटा अनि माथि ६ दाँत राख्न सकिन्छ।
दाँत प्रत्यारोपण गरिसकेपछि कस्तो हुन्छ अनि पहिलाको जस्तो हुन्छ कि हुँदैन भनेर धेरैको जिज्ञासा रहन्छ। यदि हामीले सबै मापदण्ड पूरा गरेर दाँत प्रत्यारोपण गरेका छौं अनि त्यही अनुसारको हेरचाह गरेका छौं भने पहिलाको भन्दा बलियो र राम्रो हुन्छ।
दाँत प्रत्यारोपण गरेर मात्र हुँदैन। दाँत प्रत्यारोपण गर्नुभन्दा पहिला सिबिसिटी/थ्रिडी एक्सरे गर्नुपर्छ। यस्तो गर्दा हड्डीको अवस्था अनि त्यसको लम्बाइ/चौडाइ र भित्रको अवस्था सबै बुझ्नुपर्छ। त्यो सबै हेरेर मात्र अगाडि बढ्न सकिन्छ।
दोस्रो चरणमा शरीरको अरू भागको समेत परीक्षण गर्नुपर्छ। जस्तो: भिटामिन डि र रगतका अन्य परीक्षण गर्नुपर्छ। कुन कुन परीक्षण गर्नुपर्छ भनेर दन्त चिकित्सकले सल्लाह दिन्छन्।
दाँतको प्रत्यारोपण गर्नु भनेको सौन्दर्यका लागि मात्र हो भनेर कतिपयको बुझाइ हुन्छ। तर यो पहिलो कारण होइन।
पहिलो कारण भनेको दाँतको स्वास्थ्य हो। दाँत निकाल्नसाथ सुरूमा कुनै असर देखिँदैन। यो विस्तारै मन्द विष जस्तो बन्दै जान्छ। आजको भोलि समस्या हुँदैन।
एउटा दाँत निकाल्दा ६ वटा दाँतलाई असर पार्न सक्छ। जस्तो यसको साइडको दाँतलाई असर गर्छ अनि माथिको दाँतले तल र तलको दाँतले माथि असर गर्न सक्छ। भोलिको दिनमा चपाउने ठाउँमा समेत समस्या हुन्छ। उमेर बढ्दै गएपछि दाँत प्रत्यारोपणको महत्व अझ धेरै हुन्छ। उमेर बढ्दै गएपछि एकातिर हाम्रो पाचन प्रणाली कमजोर हुन्छ भने अर्कोतिर चपाएर खान नपाउँदा थप समस्या हुन्छ।
दाँत प्रत्यारोपण गरेपछि कसरी हेरचाह गर्ने भन्ने अर्को महत्वपूर्ण कुरा हो।
हुन त दाँतको हेरचाह प्रत्यारोपण गरेपछि मात्र गर्ने होइन प्रत्यारोपण नगर्दै पनि गर्नुपर्छ। हरेक व्यक्तिले दिनमा दुई पटक ब्रस गर्नैपर्छ भने डेन्टल फ्लस समेत गर्नुपर्छ। त्यस्तै दाँत प्रत्यारोपण गरेका बिरामीले स्केलिङ गर्नुपर्छ भने ६/६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ। ६/६ महिनामा दाँतको परीक्षण गर्न सबैका लागि जरूरी छ।
दाँत प्रत्यारोपण दुई चरणमा गरिन्छ। तलको दाँतको हकमा ३ महिना र माथिको हकमा ६ महिना लाग्छ। कहिलेकाहीँ योभन्दा अझै धेरै समय पनि लाग्न सक्छ।
(दाँतको प्रत्यारोपण किन गर्नुपर्छ, यसका फाइदा के हुन् अनि कस्ता होसियारी अपनाउनुपर्छ लगायतका विषयमा केन्द्रित रहेर हामीले भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख तथा साइराम डेन्टलका सञ्चालक डा.अजय न्यौपानेसँग भिडिओ कुराकानी गरेका छौं।)