काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक युवराज संग्रौलाले विद्यार्थीमाथि दुर्व्यवहार घटनाको छानबिन गर्न बनाइएको समितिले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै प्रतिवेदन बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्वजिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले आफ्नो क्षेत्रअधिकार भन्दा बाहिरको विषय भएकाले आफूहरूले यस विषयमा छानबिन अगाडि नबढाउने भन्दै प्रतिवेदन बुझाएका हुन्।
समितिले बुधबार केएसएलका व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाएको छानबिन समितिका संयोजक भट्टराईले जानकारी दिए।
उनका अनुसार कलेजले छानबिन समितिमा बस्नु पर्यो भनेर जानकारी गराएको थियो। साइबरसम्बन्धी हो भनिएकाले हुन्छ भनेर उनले सहमति जनाए। सोही दिन अर्थात् चैत ३ गते कलेजले छानबिन समिति गठन भएको सार्वजनिक गरेको थियो।
यो पनि:
केएसएलका डेढ सय पूर्वविद्यार्थीले गरे युवराज संग्रौलामाथि छानबिनको माग
पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीको समितिमा छानबिन समिति बनाइएको हो।
'४ गते पत्र हातमा आइपर्यो। साइबर र सोसल मिडियासम्बन्धी भनिएको थियो,' उनले भने, 'बुझ्दै जाँदा घटनाको प्रकृति फरक देखियो। समितिले दुई दिनसम्म संग्रौलामाथि लागेको आरोपका विषय हेर्यो र आफ्नो क्षेत्रअधिकारभन्दा बाहिर भएको देखियो।'
आफ्नो काम गर्ने आआफ्नो विधा हुन्छ। त्यसैले आफ्नो क्षेत्रअधिकारभन्दा बाहिरको काम भएकाले सोही कुरा लेखेर प्रतिवेदन बुझाएको उनको भनाइ छ।