काठमाडौंको कुलेश्वर माध्यमिक विद्यालयमा 'खेताला' शिक्षक राखेको आरोपमा चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
कुलेश्वर माविका प्रधानाध्यापक सानुकान्छा नेपाल, सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, सहायक लेखापाल स्मृति रेग्मी र शिक्षकको रूपमा अध्यापन गरेकी श्रुति भण्डारी भनिने अम्बिका घिमिरेविरूद्ध मुद्दा दायर भएको हो।
उक्त विद्यालयमा शिक्षक उपस्थित नभई नाता पर्ने व्यक्तिलाई खेतालाको रूपमा शिक्षक राखेको र अनुपस्थित शिक्षकको नाममा तलब दिएको भन्ने उजुरी परेको थियो।
अनुसन्धान गर्दा प्रधानाध्यापक सानुकान्छा नेपालले काठमाडौं महानगरलाई जानकारी नै नगराएर २०८० माघ देखि २०८१ असार महिनासम्म तलब भत्ता निकासको माग गरेको, अनुपस्थित शिक्षकको ठाउँमा श्रुतिलाई काममा लगाएको खुलेको हो।
श्रुति सहायक प्रधानाध्यापक शिवहरिका नातेदार रहेको पनि अख्तियारले जनाएको छ।
उनले फागुन १ गतेदेखि २०८१ असार महिनासम्म अध्यापन गरेको एक लाख ५७ हजार ९१५ रुपैयाँ तलब लिएको खुलेको अख्तियारले जनाएको छ।