सिरहाको ओरही गाउँपालिका-५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटना बाहिर आएको छ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा पनि नेपाली कांग्रेस सांसद जीवन परियारले महायज्ञ गर्न डोम समुदायको उठिबास गरेको भन्दै विरोध जनाए।
यो घटनाबारे बाहिर आएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको बताए।
‘घटनाबारे मेरो पनि ध्यानाकर्षण भएको छ। अहिलेसम्म कसैबाट पनि मलाई उठिबास नै लगाएको भनेर उजुरी त आएको छैन। यो विषय आइसकेपछि भने बुझ्नलाई भनेर मैले एसपीलाई भनेको छु,’ दाहालले भने, ‘अहिले उहाँ पालिकामा जानुभएको छ।’
पालिकाले चैत १७ गतेदेखि सुरू हुने महायज्ञ गर्न दीपक मरिकको घर भत्काएर अन्यत्र सारेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं एसपी रमेश पण्डितले घटनाबारे बुझ्ने काम भइरहेको बताए।
‘म अहिले पालिका आइपुगेको छु। प्रशासकीय अधिकृतसँग पनि कुराकानी गरेँ। यहाँ भएका कागजातहरू अध्ययन गरिरहेको छु। दीपकसँग पनि कुराकानीको प्रयास भइरहेको छ,’ उनले भने।
उनका अनुसार पालिकाले जग्गा छाड्न भनेर पटकपटक ताकेता गरेको पत्र भेटिएको छ।
पालिकाले उक्त जग्गा खाली गर्न भनेर कात्तिक २७ गते ३५ दिने सूचना निकालेको थियो। त्यसपछि पुस ४ गते १५ दिने सूचना निकालेको थियो। पुस २२ गते ७ दिने र माघ २० गते तीन दिने सूचना जारी गरेको भेटिएको एसपी पण्डितले बताए।
त्यसैगरी पालिकाले दीपकलाई उपस्थित हुन भनेर समेत पत्राचार गरेको उनले बताए।
दीपक पालिकाकै स्वास्थ्य शाखामा कार्यरत कर्मचारी समेत हुन्।
फागुन ११ मा दीपक आफैले मञ्जुरीनामा गरेको भेटिएको एसपी पण्डितले बताए।
‘श्रीमान पालिका प्रमुखज्यू, म सिराहा बस्ने दीपक टहरा बनाएर बसोबास गर्दै आएकोमा हाल त्यो जग्गामा कृषि बजार व्यवस्थापन गर्न ठेक्का प्रक्रियामा समेत गइसकेकोले म आफ्नो खुसी राजीले सुजता मावि भन्दा पश्चिम बसोबास सरेको छु। त्यसमा कुनै किसिमको दाबी विरोध गर्ने छैन,’ एसपी पण्डितले उक्त पत्र उदृत गर्दै भने, ‘यसरी उहाँले हस्ताक्षर र छाप समेत लगाएको पत्र भेटिएको छ।’
पालिकाले घर बनाइदिएपछि आफै खाली गराएको भनेर प्रशासकीय अधिकृतले पनि बताएको उनले बताए।
‘प्रदेश सरकारले बनाइदिएको भन्नेबारे पनि बुझ्न बाँकी छ। बुझ्दैछु। अहिले कागजातहरू हेर्दैछु,’ उनले भने, ‘दीपकसँग पनि कुराकानी गर्ने प्रयास भइरहेको छ। बोलाउन पठाएको छु।’