जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आकलन सकिएका वडाबाट लाभग्राहीलाई स्थायी आवास पुनः निर्माण अनुदान दिन सुरू गरिएको छ।
क्षति आकलन सकिएका लाभग्राहीलाई पहिलो किस्ता वितरण शुभारम्भ गरिएको गृह मन्त्रालयले जनाएको छ। विस्तृत क्षति आकलनको कार्यसम्पन्न भएको रूकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका–२ बाट अनुदान वितरण सुरू गरिएको हो।
चौरजहारी नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले गरेको सिफारिस अनुसार सोही दिन जिल्ला विपद व्यवस्थापन समिति रूकुम (पश्चिम) ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको गृह मन्त्रालयको विपद प्रधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए।
जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार पुनःनिर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये आज चौरजहारी नगरपालिका–२ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नम्बर २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गरे।
अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई ५० हजार रूपैयाँका दरले पहिलो किस्ता भुक्तानीसमेत भएको जनाइएको छ।
विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनः स्थापना अनुदान कार्यविधि, २०८१ अनुसार लाभग्राहीले अनुदान रकम बैंक खातामार्फत् प्राप्त गर्नेछन्।